रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –२ कुनाखेतमा एक पुरुषको शव फेला परेको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका –५ हुकाम घरभइ हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ पातुखोला बस्ने ४७ वर्षिय लिलाबहादुर घर्ती मगरको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सो स्थानमा यहाँको चर्चित कुनाखेल मेला चलिरहेको छ । केही दिनअघिबाट खेलकुद लगायतका कार्यक्रम सञ्चालन भएता पनि आज मुख्य मेला लाग्ने गर्दछ ।
मेला हेर्न भनेर गएका घर्तीको शव मेला लाग्ने स्थान भन्दा करिब तीनसय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार सानीभेरी किनारमा उक्त शव फेला परेको हो ।
शव फेला परेको सूचनालगत्तै प्रहरीचौकी बाँफिकोटबाट प्रारम्भिक अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक बिष्णु चौधरीको कमाण्डमा एक प्रहरी टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको छ । घर्तीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।