
मकवानपुर । ४८ वर्षदेखि राजनीतिक एजेन्डा बन्दै आएको हेटौंडाको सडक विस्तार मुद्दा अन्ततः शनिबारबाट सकिएको छ । शनिबार एकै दिन डिभिजन सडक कार्यालय हेटौंडाले सडक सीमाभित्र रहेको भनेर नक्सांकन र रेखांकन गरी चिना लगाइएको क्षेत्रभित्रको संरचना भत्काएको छ । जसमा २ वटा बैंकसहित ३ वटा सरकारी संरचना समेत छन् ।शनिबार अबेरसम्म पनि भत्काउन नभ्याइएको संरचनाहरू आइतबार बिहानैबाट भत्काइने प्रशासनले जनाएको छ । २०३४ सालदेखि सडक विस्तार गर्नको लागि सरकारी निकायले सूचना प्रकाशन गर्ने, राजनीतिकर्मीहरूले रोक्नको लागि संघर्ष गर्ने क्रम चलिरह्यो । घरधनीले अदालतको सहायता मागेपछि अदालतको आदेशकै कारण सडक विस्तार कार्य रोकिँदै आएको थियो । नेता जिताउने हराउनेसम्मको ‘लिड’ गर्दै आएको हेटौंडाको सडक साँघुरोमात्रै रहेन, सडक सीमाक्षेत्रमा पर्ने भनिएका घर जग्गा बैंकिङ कारोबारका लागि अस्वीकृत रहिरहे ।
तर सर्वसाधारणहरू घरको राजस्व तिरिरहने, बैंकिङ कारोबारबाट सधैँ विमुख रहँदै आए । यसपटक पनि सडक विस्तारको विरुद्धमा आन्दोलन गर्नेहरूको कमी थिएन तर, प्रशासनको दरिलो उपस्थितिले संरचना भत्काइएका छन् । शनिबार बिहान साढे ४ बजे बाटै सुरक्षाकर्मीहरू सडकमा तैनाथ गरिए । सडक डिभिजन कार्यालय हेटौ ंडाले बिहान ५ः३० बजेबाटै सडक विस्तारको काम सुरु ग¥यो, जतिबेला अधिकांश सर्वसाधारण बिछ्यौनाबाट जागेकै थिएनन् ।
बजारको मुख्यचोक (बुद्धचोक) क्षेत्रबाट सडक विस्तारको लागि ४ वटा डोजर एकैसाथ लगाइयो । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौ ंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा हेटौ ंडाको मेनरोड, रापती रोड, एचआईडी, चौकीटोललगायतका क्षेत्रका घरहरू भत्काइएको हो ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा कडा सुरक्षा घेराका बिचमा सडक चौडा बनाउने काम सुरु गरिएको थियो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकलाई फराकिलो बनाउने काम सुरु गरिएको हो । सडक विस्तारविरुद्ध उत्रेकाबाट अवरोध नहोस् भनेर प्रशासनले सुरक्षा दस्ता तयारी अवस्थामा राखेको थियो ।
तर कुनै पनि अकल्पनीय घटनाबिना विस्तार कार्य सफल भएको प्रतिक्रिया प्रशासन स्रोतले दिएको छ । जिल्ला सुरक्षा समितिले करिब ७ सय सुरक्षाकर्मी फिल्डमै तैनाथ गरेको थियो भने आवश्यकताअनुसार परिचालन गर्नेगरी थप जनशक्ति तयारी अवस्थामा राखेको थियो ।
सर्वोच्चको आदेश हल्लामात्रै’
सडक विस्तारका लागि शुक्रबार मात्रै सर्वो च्च अदालतले तत्कालका लागि घर टहरा भत्काउने काम रोक्न अल्पकालीन आदेश जारी गरेको थियो । तर सडक डिभिजनले आदेशको पत्र प्राप्त नभएकाले आफूले त्यो कार्यान्वयन नगर्ने भन्दै अभियान जारी रहेको पत्र तुरुन्तै सार्वजनिक ग¥यो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले हेटौ ंडा बजार क्षेत्रको सडक विस्तार रोक्ने कुनै आदेश सर्वोच्च अदालतबाट नआएकाले काम जारी रहेको बताए । ‘हामीले मंसिर ५ गते गोरखापत्रमा सूचना निकालेर महेन्द्र राजमार्गको हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा खाली गराउन आग्रह गरेका थियौँ, शुक्रबार मध्यरातसम्म खाली नगरिएपछि शनिबार बिहानैबाट खाली गराउने काम सुरु गरेका हौँ,’ सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले भने ।
अदालतले सडक सीमामा परेका ६ वटा घरको सवालमा २६ मंसिरमा छलफलको लागि बोलाएको छ । सर्वोच्च अदालतले शुक्रबार मंसिर २६ गतेको लागि पेशी तोक्दै अन्तरिम आदेश जारी हुने नहुने विषय टुंगो नलागेसम्म सडक डिभिजन हेटौंडाको मंसिर ५ गतेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनेको थियो ।
हेटौंडा कहिले बन्ला हराभरा ?
एसियन हाइवेको मापदण्डअनुसार सडक विस्तार गर्ने क्रममा हेटौंडाका घर तथा भौतिक संरचनाहरू शनिबार भत्काइएका हुन् । संरचना भत्काउन घरधनीले अटेर गरेका कारण डोजर लगाउनु पर्दा शहरको सौन्दर्य बनेका बोट बिरुवाहरू नष्ट भएका छन् । डिभिजन सडक कार्यालयले संरचना भत्काउँदा हरियाली बचाउने बताए पनि धेरै रुखहरू नष्ट भएका छन् ।
‘दशकौँ लामो समय लगाएर हुर्केका बिरुवाहरूको माया लाग्यो,’ हेटौंडा ५ का सन्तोष लामाले भने, ‘हेटौंडाको पहिचान नै बनेका थिए साइडका बिरुवाहरू । अब फेरि यस्तै हराभरा बनाइयोस् भन्ने सुझाव दिन चाहन्छु ।’ संरचनाहरू भत्काएपछिको हेटौंडा ठूलै भूकम्पले धक्का दिएर बिजोक भएजस्तो भएको छ ।
यससँगै धुलो र अन्य फोहोरका कारण थप अस्तव्यस्त देखिएको छ । ‘राम्रो व्यवस्थापनका लागि यो सबै आवश्यक थियो,’ डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने, ‘सबै व्यवस्थापन हुनेछ, लामो समय यस्तो अस्तव्यस्तता रहँदैन । सकेसम्म बिरुवा बचाएका छौँ, केही केही नष्ट भएका छन्, बजारलाई फेरि हराभरा बनाउने छौँ ।

42 पटक हेरिएको 

