एजेन्सी । एकजना धर्मगुरूलार्इ अदालतले बलात्कार अभियोगमा दोषी ठहर गरेपछि भड्किएको साम्प्रदायिक हिंसामा कम्तिमा पनि २५ जनाले ज्यान गुमाएका छन् ।
डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहीमलार्इ बलात्कार मुद्दामा दोषी ठहर गरिएपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको हो । सीबीआई अदालतले उनीविरूद्धको सजायमाथि सुनवाई गर्ने मिति २८ अगस्टलार्इ तोकेको अवस्थामा भारतमा शुक्रबार हिंसा भड्किएको हो ।
राम रहीमलार्इ अदालतले दोषी ठहर गरेपछि उनका समर्थक अनियन्त्रित हुँदै सडकमा उत्रेका हुन् । उनीहरूले सरकारी संरचना तथा सञ्चारमाध्यमका गाडीमा तोडफोड गरेका छन् । उनीहरू आगजनीमा उत्रेपछि पुलिस र डेरा समर्थकबीच भएको हिंसामा अहिलेसम्म कम्तिमा २५ जना मारिएका छन् ।
पञ्जाव, हरियाणासहितका राज्यमा भड्किएको हिंसापछि यतिका संख्यामा मानिसको ज्यान गएको हो । घटनामा कम्तिमा पनि दुर्इ सयजना घाइते भएका छन् ।
हिंसाले उग्ररूप लिएपछि राज्य सरकारले सडकमा सेना उतारेको छ । समाचार अनुसार डेरा समर्थकहरूले भारतको राजधानी नयाँदिल्लीस्थित आनन्द विहार रेलवे स्टेशनमा रोकिएको रिवा एक्सप्रेसका दुर्इ खाली डब्बा जलाइदिएका छन् ।
उच्च अदालतले राम रहीमको सम्पत्ति जफत गरेर राज्यको क्षति भएको सम्पत्ति उठाउन भनेको छ । समाचार अनुसार हरियाणा, पञ्जाब, उत्तरप्रदेश, दिल्ली र राजस्थानमा डेरा समर्थकको प्रदशर्न उग्र भएको हो । हरियाणामा २२४ र पञ्जाबमा ६४ स्थानमा हिंसा भड्किएको छ । हरियाणाको पञ्चकुलामा मात्रै १३ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ कम्तिमा ७० जना घाइते भएका छन् ।

910 पटक हेरिएको 

