
काठमाडौं । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने मस्यौदा पेस गरिने छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटव्यूरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् ।
प्रस्तावित विधानकामा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा ३ मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसुचि रहेको छ । सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए ।
सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरोबाहेक एमालेमा करिब २ सय ३० जना केन्द्रीय सदस्य रहेका छन् । बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटव्यूरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । उपाध्यक्ष पौडेलले विधान यी विषयहरु पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्नुहुने गौतमले जानकारी दिए ।
केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकाी दिए । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

192 पटक हेरिएको 

