एजेन्सी– राम्रो स्वास्थ्यका लागि राम्ररी निदाउनु अत्यन्त आवश्यक छ । चिकित्सकका अनुसार हरेक दिन ६ देखि ८ घण्टासम्मको निद्रा जरुरी हुन्छ। तर विश्वका करिब १० करोड मानिसहरु राम्ररी निदाउन नसक्ने समस्या अर्थात् ‘स्लीप एप्निया’ बाट पीडित छन्। तीमध्ये ८० प्रतिशतलाई यस्तो रोग लागेको बारे थाहा छैन।
अध्ययनमा सामेल गरिएकामध्ये ६७ प्रतिशतले राम्ररी निदाउनु स्वास्थ्यका लागि लाभदायी भएको बताएपनि यो कुरा आफ्नो प्राथमिकतामा नपर्ने उल्लेख गरेका थिए । भारतमा पनि ६६ प्रतिशत मानिसले स्वास्थ्यका लागि निद्राभन्दा शारीरिक व्यायाम बढी महत्वपूर्ण भएको बताएका थिए ।
एक तथ्यांकअनुसार भारतमा पनि २० दशमलब ३ प्रतिशत बिरामी निद्रा लगाउने औषधी सेवन गरिरहेका छन् । फिलिप्स इण्डिया लिमिटेडले १३ देशमा गरेको अध्ययनमा निद्रासम्बन्धी रोचक तथ्यहरु सार्वजनिक भएका छन् । उक्त कम्पनीले अमेरिका, बेलायत, जर्मनी, पोल्याण्ड, फ्रान्स, भारत, चीन, अष्ट्रेलिया, कोलम्बिया, अर्जेन्टिना, मेक्सिको, ब्राजील र जापानका १५ हजारभन्दा बढी वयस्क मानिसमा अध्ययन गरेको थियो।
यस्तै, ७७ प्रतिशतले निद्रामा सुधार ल्याउन आफूले प्रयास गरिरहेको बताएका थिए । जसअनुसार ३६ प्रतिशतले निदाउन मिठो संगित सुन्ने गरेको र ३२ प्रतिशतले निश्चित समय पालना गर्ने गरेको पाइएको छ । युवा पुस्ता (१८ देखि २४ वर्ष) ले निद्रालाई अलग ढंगले सोच्ने गरेको पाइयो । उनीहरुमा सुत्ने निर्धारित समय नभएपनि हरेक रात ७ घण्टाभन्दा बढी सुत्ने गरेको पाइयो । यसको तुलनामा २५ वर्षभन्दा बढी उमेरका मानिसहरु भने ७ घण्टाभन्दा कम सुत्ने गरेको पाइएको छ ।
६१ प्रतिशतले कुनै रोगका कारण आफ्नो निद्रा प्रभावित हुने गरेको बताएका छन् । तीमध्ये २६ प्रतिशत अनिद्रा र २१ प्रतिशत घुर्ने समस्याबाट पीडित थिए । ५८ प्रतिशत मानिसले निद्रा नलाग्नुको कारण चिन्ता रहेको बताएका थिए । राम्ररी निद्रा नलाग्नुमा थकान तथा एकाग्रताको कमीलाई जिम्मेवार मानिएको छ । अधिकांश मानिसले थकानका कारण निद्रा खलबलिने गरेको बताएका थिए ।
राम्रो निद्राका फाइदा
१. स्मरणशक्ति र सिर्जनाशक्तिमा वृद्धि हुन्छ ।
२. रोगप्रतिरोधी क्षमता बढाउँछ र शरीरका कोषलाई मर्मत गर्छ ।
३. दीर्घरोग लाग्ने सम्भावना कम गर्छ ।
हरेक वर्ष १६ मार्चमा मनाइने विश्व निद्रा दिवसको यस वर्षको नारा ‘ज्वाइन दि स्लीप वल्र्ड, पिजर्भ योर रिदम्स टु इन्जोय लाइफ’ छ ।
के हुन्छ राम्ररी ननिदाउँदा ?
चिकित्सकका अनुसार स्लीप डिसअर्डर अर्थात् राम्ररी निद्रा नलाग्ने समस्या मानिसहरुले सोचेभन्दा गम्भीर हो । यसको सिधा सम्बन्ध मुटु, मधुमेह, उच्च रक्तचाप तथा हृदयाघातसंग छ । नयाँदिल्लीको गंगाराम अस्पतालको निद्रा चिकित्सा विभागका प्रमुख डा.सन्जय मनचन्दा भन्छन्, ‘निद्रा जीवनको एक अनिवार्य तथा सक्रिय चरण हो, यद्यपि यसबारेमा मानिसहरुको जागरुकता छैन र स्लीप डिस्अर्डरप्रति पनि मानिसहरु लापरवाह छन् ।’

1341 पटक हेरिएको 


