.अनिश्चितकालीन धर्ना बस्दै निर्मला पन्तका बाबु–आमा

  Manaslu Post  846 पटक हेरिएको

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडितले अनिश्चितकालीन धर्ना दिने भएका छन् ।

निर्मलाका बाबु, आमा र हत्या विरोधी अभियानमा संलग्न रहँदै आएका स्थानीयले आइतबारदेखि धर्ना शुरु गर्ने तयारी गरेका हुन् । शनिबार महेन्द्रनगरमा भएको छलफलपछि यसअघि नै घोषणा गरिएको अनिश्चितकालीन धर्ना शुरु गर्ने निर्णय भएको हो ।

आइतबार बिहान ११ बजे महेन्द्रनगरको मदनचोकबाट र्‍यालीसहित बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बस्ने कार्यक्रम रहेको छ ।

निर्मलाका बाबु यज्ञराज पन्तका अनुसार बलात्कार र हत्या भएको साढे तीन महिनासम्म अनेकौं संघर्ष गरी दबाब दिँदा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि धर्ना बस्ने निर्णय भएको हो ।

पीडितले अनिश्चितकालीन धर्नालाई आन्दोलनको निर्णायक चरणका रुपमा लिएका छन्। बाबु यज्ञराजले न्याय नपाएसम्म निरन्तर धर्नामा बस्ने बताएका छन् ।

निर्मलाको बलात्कार र हत्याको अनुसन्धानको क्रममा प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त भैसकेका छन् । महिला तथा मानवअधिकारकर्मीले उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दे आएका छन् ।

साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ को उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार