ज्यानै दाउमा राखेर डरलाग्दो तारेभीरमा मह सिकारी

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  926 पटक हेरिएको

https://www.youtube.com/watch?v=nQiT2ExiVsc

म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको घ्यासपुरमा रहेको भीरमा ‘हनी हन्टीङ’ सुरु भएको छ । वर्षौँदेखि आफ्नो पुर्ख्यौली चलनका रूपमा गुर्जावासीहरूले ज्यानै दाउमा राखेर डरलाग्दो अग्लो तारेभीरबाट भीरमौरीको मह निकाल्दै आएका छन् । मह काढ्न जानेहरू झन्डै ५ सय मिटरभन्दा अग्लो भीरमा डोरीबाट निर्माण गरिएको भर्‍याङको सहायताली भीरमा सिंगौरी खेल्दै मह निकाल्छन् ।

मौरीको टोकाइबाट बच्न शरीरमा बाक्लो कपडा, हातमा पन्जा र अनुहारमा जाली लगाएर मह सिकारीहरू भीरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन् अनि मौरीका चाकाहरू खसाल्छन् । सदरमुकाम म्याग्दीबाट २ दिन टाढाको दूरीमा रहेको गुर्जाको घ्यासपुरमा भीरमा पुग्ने ‘हनी हन्टर’हरू झन्डै ५ घण्टाको पैदल यात्रा गरेर मह सिकारमा जाने गरेका छन् । हरेक वर्ष जेठदेखि असार महिनासम्म एक महिनाको अवधिमा घ्यासपुर जस्तै जिल्लाका छहरा, रिमताला, हुचिन, घुमाउरे, वानथान, फलियाघर, ठूलो भीर लगायतका अन्य दर्जनौँ तारेभीरहरूमा यसरी नै मह सिकार हुने गरेको छ ।

गुर्जावासीहरूले आफ्ना पुर्खाहरूबाट मौरी टोकाइबाट सुरक्षित हुने तरिकासहित भिरबाट मौरी निकाल्न जानेका छन् । भीरको कोप्चामा पानीले नभिज्ने र हावाहुरीले समेत कम प्रभावित हुने ठाउँमा हुने भीरमौरीको चाकाबाट मह निकाल्ने काम पुर्ख्यौली पेसा भए पनि निकै जोखिमपूर्ण छ ।

गुर्जामा रहेका झन्डै २ सय भन्दा बढी घरधुरीहरू समूहमा विभाजित भएर बर्सेनि भीरमा गएर मह निकाल्ने गरेका छन्।  समूहमा गएका उनीहरूले समूहभित्र पनि कामको बाँडफाँड गरेका हुन्छन् । सिकार खेल्न गएकाहरू कसैले भर्‍याङ तयार पार्छन्, कोही खाना पकाउँछन्, कोही भिरमा चढ्छन् त कोहीले जमिनबाट डोरीको सहायतामा टोकरी तलमाथि गर्दै महका चाकाहरू जमिनसम्म झार्छन्।

डोरीमा झुण्डिएर भीरमा बसेर चाका खसाल्ने काम गर्ने व्यक्तिलाई अरूको तुलनामा दोब्बर मात्रामा मह भाग लगाइन्छ भने अरू काम गर्नेहरूले समान परिमाणमा मह पाउँछन् । आफ्नो भागमा पर्ने महलाई उनीहरू एकै ठाउँमा बसेर परम्परागत रूपमै प्रशोधन गरेर बिक्री गर्ने गरेका छन् ।

गुर्जाको भिरमा उत्पादन हुने भीरमहले स्थानीयबासीको आयआर्जनको लागि महत्त्वपूर्ण स्रोत बनेको छ। भीरमा मौरीको चाकाबाट निकालिएको काँचो महलाई गाउँमा पुर्‍याएर पकाएर प्रशोधन गरेर स्थानीय तथा राष्ट्रिय बजारहरूमा बिक्रीको लागि पुर्‍याउने गरिन्छ भने एकपटकमा एउटा भीरबाट झन्डै ३ सय लिटर भन्दा बढी मह निकाल्ने गरिन्छ ।

स्थानीयका अनुसार राम्रोसँग मह निकाल्न पाएको वर्षमा झन्डै १५ लाख रुपैयाँ भन्दा बढीको मह भीरबाट निकालिन्छ। गुर्जावासीको पुर्ख्यौली पेसाको रूपमा रहेको मह सिकारलाई धवलागिरी गाउँपालिकाले पनि कार्ययोजना बनाएर व्यवस्थित बनाउँदै लैजाने तयारी गरिरहेको छ ।

गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालका अनुसार गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयको पुर्ख्यौली पेसाको संरक्षण र पर्यटनसँग समेत जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको छ । नयाँ योजनाभित्र सिकारको परम्परागत शैलीलाई आधुनिक बनाउँदै यसलाई सुरक्षित कसरी बनाउन सकिन्छ? भन्ने विषयमा पनि छलफल भइरहेको प्रवक्ता छन्त्यालको भनाइ छ । भीरमौरीको मह औषधिको रूपमा प्रयोग हुने गरेको छ ।

जङ्गलमा बस्ने मौरीले जंगलमा नै पाइने विभिन्न जडीबुटीहरूका फूलबाट रस लिने भएकोले भीरमौरीको महलाई घर मौरीको महभन्दा पनि बढी महत्त्वको मानिन्छ। शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष फाइदा दिनुका साथै शक्ति प्रदान गर्ने तत्त्वका रूपमा पनि भीर महलाई लिने गरिन्छ। यही कारण पनि म्याग्दीका भिरहरूबाट निकालिने भीर महले विस्तारै अन्तर्रा्ष्ट्रिय बजार पनि पाउँदै जान थालेको छ । गाउँबाट नै एक लिटरको झन्डै १५ सय रुपैयाँमा बिक्री हुने गरेको भिर मह जिल्लाका बाहिरका बजारमा पठाउँदा भने अझै महँगो हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार