
बारा । बारा जिल्लामा पानीमा डुबेर ज्यान जाने घटनाको शृङ्खला रोकिएको छैन। शुक्रबार कलैया उपमहानगरपालिका–१० मा छ महिनाकी एक शिशुको नहरमा डुबेर मृत्यु भएपछि पछिल्लो एक सातामा डुबेर ज्यान गुमाउने बालबालिकाको सङ्ख्या चार पुगेको छ। लगातार बालबालिकाले ज्यान गुमाउन थालेपछि वर्षायाममा अभिभावकको सतर्कता र स्थानीय तहको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार कलैया उपमहानगरपालिका–१०, मटिअर्वाका मोबारक मियाकी छ महिनाकी छोरी सनाया खातुन शुक्रबार साँझ घरको आँगनमा खेल्ने क्रममा आँगनसँगै बगेको नहरमा खसेर डुबेकी थिइन्। परिवारका सदस्यले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याए पनि चिकित्सकले साँझ ६ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।
यसअघि सोमबार जितपुरसिमरा उपमहानगरपालिका–७ को पहाडी टोलस्थित सरिसवा नदीमा डुबेर तीन वर्षीया फुलतारा खातुनको मृत्यु भएको थियो। जितपुरसिमरा–३ निवासी अली हुसेनकी छोरी फुलतारा आफन्तको घर गएकी बेला खेल्ने क्रममा नदीमा डुबेको प्रहरीले जनाएको छ। उनकी आमा सल्यान खातुनले तत्काल उद्धार गरी नगर अस्पताल सिमरामा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो।
यसअघि पनि यही साताभित्र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा धानखेतमा जमेको पानी, पोखरी तथा अन्य जलाशयमा डुबेर दुई बालिकाको मृत्यु भएको थियो। पछिल्ला चारवटै घटनामा बालबालिकाले ज्यान गुमाएको तथ्यले अभिभावक, स्थानीय समुदाय र सम्बन्धित निकाय थप सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ।
लगातारको वर्षासँगै नदी, नहर, खोल्सा, पोखरी तथा खेतमा पानीको सतह बढ्दै गएकाले बालबालिकालाई पानी नजिक एक्लै खेल्न नदिन, घर वरपर रहेका खुला नहर तथा जलाशय सुरक्षित बनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा उपाय अपनाउन सरोकारवालाले आग्रह गरेका छन्। छोटो अवधिमै डुबेर बालबालिकाको मृत्युका घटना दोहोरिनुले वर्षायाममा बाल सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता अझ टड्कारो बनेको छ।

2 पटक हेरिएको 

