पोखरा । समाजवादी समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सातै प्रदेशमा प्रदेश समिति गठन र १० जोड १ राज्यको अवधारणानुसार पार्टी लागेकोमा केही भने अत्तालिएको टिप्पणी गरेका छन् । तमुवान राष्ट्रिय समिति घोषणा समिति गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले सो अभियानमा लागेको देख्दा केही अत्तालिएको र उनीहरूको मुटुमा ढ्यांग्रो ठोकेको बताएका हुन् ।
‘संविधान निर्माणका बेला राज्यको पुनःसंरचना समिति र आयोगले पहिचानका पाँच आधार, सामथ्र्यका चार आधार तयार गरेको थियो, सोअनुरूप देशलाई १० प्रदेशमा राज्यको पुनःसंरचना गर्नु सबैभन्दा वैज्ञानिक हुन्छ भनिएको थियो,’ उनले विगत स्मरण गर्दै भने, ‘तर, संविधान जारी गर्ने बेलामा शक्ति सन्तुलनका कारणले गर्दा पूरा गर्न सकिएन ।’
उनले कहिल्यै पनि सत्य र न्यायको मुद्दा नसकिने भन्दै मुद्दालाई तार्किक निष्कर्षमा नपु¥याउन्जेलसम्म रहिरहने बताए । नेपालको संविधानबाट केही उपलब्धि भएको उल्लेख गर्दै उनले भने, ‘उपलब्धि आधा गिलासजस्तो छ, यसलाई भरी बनाउन संविधान संशोधन नै भएकाले सडक, सदन र सरकारबाटै हामी लक्ष्यमा पुग्छौं ।’ संघर्ष नगरीकन अधिकार नआउने उनको भनाइ थियो ।
हाल नेपाली जनतालाई एकथरीले उत्तरको विचार सापटी लिएर प्रयोग गर्ने धृष्टता गरेको र अर्कोथरीले चरम दक्षिणपन्थी विचारलाई लिएर ठग्ने काम गरेको उनले टिप्पणी गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले पहिचानका अधारमा संघीय प्रणाली स्थापना गर्न तमुवान राष्ट्रिय समिति गठन गरिएकाले अधिकारप्राप्तिका लागि समितिले नेतृत्व गरिरहने बताए ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जनजाति, उत्पीडित, महिला, पछाडि पारिएकाका लागि बोल्ने कोही पनि नभएको गुनासो गर्दै सबैको सहभागिता भएको संरचना नेपालीले चाहेको र अधिकारको आन्दोलनमा साथ दिने बताइन् । सांसद हरिशरण आचार्यले आफूलाई ‘गण्डकी’ प्रदेश भन्न गाह्रो लाग्ने गरेको बताउँदै अब आन्दोलनबाटै संविधानको संशोधन हुने बताए ।
MANASLU TV

629 पटक हेरिएको 

