काठमाडौं । सरकारले लामो समयदेखिको चर्चा परिचर्चामा रहेको मन्त्रीमण्डल पुनर्गठनको हिजो (बुधबार) टुंगो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर गरी नयाँ मन्त्रिमण्डल गठन गर्नुभयो।
पुनर्गठन भएको नयाँ मन्त्रीमण्डलमा केही मन्त्रीलाई हटाइएको छ भने केहीलाई नयाँ नियुक्त गरिएको छ । नयाँ मन्त्रीमण्डल गठनमा ७ मन्त्रीले पद गुमाएका छन् ।
पद गुमाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गोकर्ण विष्टको नाम रहेको छ । विष्टलाई मन्त्री पदबाट हटाइएसंगै सामाजिक संजालमा सरकारको चर्को विरोध पनि भएको छ । यसैक्रममा मन्त्री विष्टले आफ्नो फेसबुक पेजमा मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीलाइ धन्यवाद दिंदै आफु मन्त्रीबाट थप उर्जा र प्रेरणाका साथ बाहिरिएको जानकारी दिनुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’
पोस्ट गरेको केही समयमा नै उहाँको स्टाटसमा धेरैजनाले प्रतिक्रिया जनाएका छन्। कसैले उहाँको कार्यसम्पादनको तारिफ गर्दै आगामी दिनमा थप उर्जाका साथ् काम गर्न शुभकामना दिएका छन् भने कसैले सरकारको यो कदमको घोर भ्रत्सर्ना गर्दै व्यंग्य पनि हानेका छन्।
मणिराज पाण्डेले लेखेका छन्, ‘तपाईंको बिदाईले गर्दा मेनपावर दलाली ठेकेदार लाई दशै र तिहार भोज भतेर चलिरहेको छ। योग्य र क्षमतालाई प्रधानमन्त्री केपी शर्मा ओलि ले कदर गर्न सक्नुभएन ।सबै दलाली र माफियालाइ काखी च्यापेर हिड्नु भयो। समृद्धि नेपाल र समाजवाद बाटो अपुरा र असफल ….!!!!’
त्यस्तै, रुक्मांगत गैरेले लेखेका छन्, ‘दुख लायो मन्त्री ज्यु। तपाईं एउटा आशा लाग्दा मन्त्री हुनुहुन्थ्यो। आशा छ फेरि कुनै समय पक्कै पनि अझ बढी उत्साह का साथ काम गर्ने र जनभावना अनुरुप काम गर्ने अवसर मिल्ने छ।तपाइले गर्नु भएको काम प्रती जनताको सलाम।।।।।’
२०७४ चैत्र २ गते श्रममन्त्रीमा नियुक्त हुनुभएका विष्टले २१ महिना श्रम मन्त्रालयमा बिताउनुभयो । उहाँले आफ्नो कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार समेत गर्नुभयो ।
MANASLU TV

1152 पटक हेरिएको 

