अध्यादेश फिर्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीले छलफलका लागि देउवालाई बालुवाटार बोलाएका थिए ।
‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा एक घन्टा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘त्यसपछि अध्यक्ष प्रचण्डसहित तीनजनाबीच छलफल भएको हो ।’ देउवा बालुवाटारबाट बाहिरिएलगत्तै ओली र प्रचण्डबीच छलफल चलिरहेको छ ।
गल्ती सच्याउँदै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्रीलाई धन्यावाद दिँदै एक सांसदलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याउनेलाई कारबाही गर्न देउवाले माग गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ । ‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ । तर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ,’ नोटमा उल्लेख छ, ‘मेरो माग यही छ । देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’ देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवादका कुनै कुरा नल्याई थप सजग हुन आग्रह गरेका छन् ।
कोरोना रोकथामका लागि समुदायस्तरमा व्यापक परीक्षण गर्न, स्वास्थ्यकर्मीहरूलाई पिपिईलगायतका सामग्री पर्याप्त व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई हतोत्साहित नगर्न पनि देउवाले आग्रह गरेका छन् । श्रमिकलाई कि खान दिन वा गाउँ जान दिन, घोषित राहत दिनैपर्नेलाई दिन, श्रमिक, बेरोजगार, विद्यार्थी र सानाठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउन पनि देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
देशलाई रेमिट्यान्स पठाएर योगदान गर्नेहरू विदेमा अप्ठ्यारोमा परेको भन्दै त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्धार गर्नेबारे तत्काल योजना सार्वजनिक गरी काम थाल्न पनि देउवाले आग्रह गरेका छन् ।

530 पटक हेरिएको 

