फेसबुककै पूर्वकर्मचारीले गरिन् फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा

  Manaslu Post  573 पटक हेरिएको

फेसबुक बालबालिका तथा समाजका लागि हानिकारक भएको खुलासा फेसबुक कम्पनीकै एक पूर्वकर्मचारीले गरेकी छन्।

फेसबुकका वेबसाइट र एपले बाबालिकालाई हानि पुर्‍याउने, विभाजन बढाउने र लोकतन्त्रलाई कमजोर पार्ने भन्दै फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले गोप्य कुरा खोलेकी हुन्।

बीबीसीका अनुासर उनले यो कुरा अमेरिकी विधायकहरूसँग भनेकी हुन्।

फेसबुकले गर्ने क्षतिरबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको आरोप पनि उनले लगाएकी छन्।

उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन्।

यसैबीच फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको भन्दै उनको कुराको खण्डन गरेको छ।

तर उसले विज्ञप्तिमार्फत अब इन्टरनेटमा परिष्कृत नियम ल्याउने समय आएको पनि स्वीकार गरेको छ।

मंगलबार सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए।

उक्त विशाल प्रविधि कम्पनीविरुद्ध छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्ति सार्वजनिक भइरहेका हुन्।

२.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो।

करोडौं प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन्।

तर फेसबुक कम्पनीविरुद्ध प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ।​

हाउगनले फेसबुक आफैं नसुध्रिने भन्दै अमेरिकी संसद् कङ्ग्रेसको हस्तक्षेप आवश्यक रहेको बताइन्।

हाउगनले पछिल्ला दिनहरूमा फेसबुकका कैयौं गोप्य दस्तावेज द वालस्ट्रिट जर्नल पत्रिकालाई दिएकी थिइन्।

जसमा टेकेर उक्त पत्रिकाले प्रकाशन गरेको समाचारमा इन्स्ट्रागामकै एउटा अध्ययनले उक्त एपले युवतीहरूको मानसिक स्वास्थ्यलाई असर पार्ने देखाएको उल्लेख छ।

मंगलबार सिनेटर एड मार्कीले फेसबुकका मालिक मार्क जुकरबर्गलाई आफ्नो सन्देशमार्फत ‘गोपनीयतामा हस्तक्षेप, विषाक्त वषयवस्तुको प्रवर्द्धन र बालबालिकालाई बिगार्ने समय सकिएको’ चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार