निरन्तर उकालो लाग्दै विद्युतीय कारोबारको ग्राफ

  Manaslu Post  123 पटक हेरिएको

काठमाडौँ, वैशाख १७ गते । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) भित्रिएसँगै बढ्न थालेको विद्युतीय कारोबारको ग्राफ उकालो लाग्ने क्रम जारी छ । कोरोनाका कारण बैङ्कसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठ्यारो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको थियो । कोरोनामा बन्दाबन्दीका बेला सर्वसाधारण बैङ्कसम्म पुग्नु त टाढाको कुरा घरबाहिर समेत निस्कन डराइरहेका बेला विद्युतीय कारोबार भने ह्वात्तै बढेको थियो । जसले अहिले पनि निरन्तरता पाइरहेको छ ।

कोरोनाका बेला चम्किएका क्यूआर, वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्डलगायतका माध्यमले यतिबेला छलाङ मारिरहेका छन् । यद्यपि आरटीजीएस, कनेक्ट आईपीएस, आईपीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, ई–कमर्स, पीओएस भने केही सुस्ताएका छन् ।

क्यूआर कोड तीन गुणाले वृद्धि 

पछिल्लो समय चिया पसलदेखि तरकारी पसलसम्म लोकप्रिय बनेको क्यूआर कोडमार्फत हुने भुक्तानीको कारोबार एक वर्षमा झन्डै तीन गुणाले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको फागुनमा सात अर्ब ७६ करोड २० लाख रुपियाँ बराबरको कारोबार क्यूआर कोडमार्फत भएकामा चालु आर्थिक वर्षको फागुनसम्ममा झन्डै तीन गुणाले बढी अर्थात् २० अर्ब ७७ करोड ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यसरी हेर्दा एक वर्षमा १३ अर्ब एक करोड ४० लाख रुपियाँले बढेको हो ।

एक वर्षअगाडि २३ लाख सात हजार ९०४ कारोबार सङ्ख्या रहेको क्यूआर कोड एक वर्षमा झन्डै तीन गुणाले वृद्धि अर्थात् ६७ लाख ५० हजार ५९२ पुगेको छ । जब कि माघ महिनामा ५७ लाख ८२ हजार २६५ रहेको थियो । यसरी हेर्दा एक महिनामा नौ लाख ६८ हजार ३१७ कारोबार सङ्ख्या थपिएको छ ।

मोबाइल बैङ्किङ दुई गुणाले वृद्धि 

एक वर्षमै मोबाइल बैङ्किङमार्फत हुने कारोबार झन्डै दुई गुणाले बढेको छ । अघिल्लो वर्षको फागुनमा एक खर्ब सात अर्ब ११ करोड ९० लाख रुपियाँ रहेको मोबाइल बैङ्किङमार्फत हुने कारोबार यो वर्ष फागुनमा आइपुग्दा झन्डै दुई गुणाले बढी अर्थात् एक खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपियाँ भएको छ । जुन एक महिनामै १९ अर्ब ७० करोड ५० लाख रुपियाँ थपिएको हो ।

कारोबार सङ्ख्याको हिसाबले हेर्दा पनि एक वर्षअगाडि एक करोड ५५ लाख ५९ हजार ९७० रहेकामा झन्डै दुई गुणाले बढेर दुई करोड ४५ लाख ६६ हजार १०७ पुगेको छ । यसरी हेर्दा एक महिनामा मोबाइल बैङ्किङमार्फत हुने कारोबार सङ्ख्या २३ लाख ५० हजार २७ थपिएको छ ।

डेढ अर्बभन्दा बढीे वालेटमार्फत

वालेटमार्फत हुने कारोबार पनि एक वर्षअगाडि १६ अर्ब ५९ करोड ९० लाख रुपियाँ रहेकामा एक वर्षपछि १८ अर्ब १५ करोड ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यस्तो कारोबार रकम एक वर्षमा एक अर्ब ५५ करोड ७० लाख रुपियाँ बढेको छ भने माघ महिनामा भन्दा एक अर्ब ३८ करोड रुपियाँले बढी हो । माघ महिनामा वालेटमार्फत हुने कारोबार रकम १७ अर्ब ११ करोड ८० लाख रुपियाँ थियो ।

कारोबार सङ्ख्याको हिसाबले हेर्दा पनि गत वर्षको फागुनमा एक करोड ४० लाख ३३ हजार ४९० रहेकामा ठ्याक्कै एक वर्षपछि एक करोड ९७ लाख ८७ हजार २५८ पुगेको छ । जुन माघ महिनाको भन्दा २८ लाख २६ हजार ४३० ले बढी हो । माघ महिनामा वालेटमार्फत हुने कारोबार सङ्ख्या एक करोड ६९ लाख ६० हजार ८२८ रहेको थियो ।

एटीएमबाट १२ अर्ब

एक वर्षमा एटीएममार्फत हुने कारोबार १२ अर्ब ११ करोड ८० लाख रुपियाँले बढेको छ । अघिल्लो वर्षको फागुनमा ६९ अर्ब ६१ करोड ६० लाख रुपियाँ बराबरको कारोबार एटीएममार्फत भएकामा यो वर्ष फागुनसम्म आइपुग्दा ८१ अर्ब ७३ करोड ४० लाख रुपियाँ बराबरको कारोबार भएको छ । जब कि माघ महिनाको भन्दा चार अर्ब ६९ करोड ३० लाख रुपियाँले बढी हो । गत माघ महिनामा ७७ अर्ब चार करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको थियो ।

कारोबार सङ्ख्याका आधारमा हेर्दा पनि अघिल्लो वर्ष ८५ लाख ७२ हजार ६२० रहेकामा यो वर्ष १६ लाख पाँच हजार ३३६ ले बढेर एक करोड एक लाख ७७ हजार ९५६ कारोबार सङ्ख्या पुगेको छ ।

डेबिट र क्रेडिट कार्डमार्फत बढी

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार डेबिट र क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि बढोत्तरी देखिएको छ । गत आर्थिक वर्षको फागुनमा ७२ अर्ब ५९ करोड ९० लाख रुपियाँ बराबरको कारोबार डेबिट कार्डमार्फत भएकामा यो आर्थिक वर्षको फागुनमा ८५ अर्ब १४ करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको हो । जुन एक वर्षमा १२ अर्ब ५४ करोड २० लाख रुपियाँले बढेको छ । जुन गत माघ महिनाको भन्दा पाँच अर्ब ४४ करोड ७० लाख रुपियाँले बढी हो । माघ महिनामा ७९ अर्ब ६९ करोड ४० लाख रुपियाँको कारोबार भएको थियो ।

सङ्ख्यात्मक रूपले हेर्दा पनि गत वर्ष ९३ लाख १९ हजार ८८४ रहेकामा एक वर्षपछि एक करोड नौ लाख ४० हजार ५३२ पुगेको छ । यस्तै क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि गत वर्ष एक अर्ब १४ करोड ८० लाख रुपियाँ बराबर कारोबार भएकामा यो वर्ष एक अर्ब ४१ करोड २० लाख रुपियाँ बराबर कारोबार भएको हो । यसरी हेर्दा एक वर्षमा २६ करोड ६४ लाख रुपियाँले बढी हो ।

बढ्नुका कारण कोरोना भाइरस

विकसित मुलुकहरूमा आधुनिकीकरण र सुरक्षाका दृष्टिले विद्युतीय भुक्तानीमा आकर्षण बढे पनि नेपालमा भने यसको श्रेय केवल कोरोना भाइरसलाई जान्छ । नेपाल बैङ्कर्स एसोसिएसनका पूर्वअध्यक्ष अनिल शाह भन्नुहुन्छ, “कोभिड भनेपछि चिसो हुन्छौँ, झस्कन्छौँ । कोभिडले त बर्बाद पा¥यो भनेर तर त्यस्तो होइन । वित्तीय क्षेत्रमा डिजिटल रिभोलुसन नै ल्याएको हो, अहिले देखिएको वृद्धि पनि त्यसकै श्रेय हो ।” बैङ्कहरूलाई डिजिटलमा ग्राहकलाई कसरी जोड्ने भन्ने चुनौती रहेका बेला कोभिडले सहज बनाएको उहाँको भनाइ छ ।

विद्युतीय भुक्तानी प्रवद्र्धन प्रभातफेरी

राष्ट्र बैङ्कले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी–२०८०’ कार्यक्रम आयोजना गरेको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैङ्कले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनका निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गर्नुभयो । दरबार मार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट, जमलबाट पुनः दरबार मार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैङ्क परिसरमा पुगेर समापन भएको थियो ।

भुक्तानी कारोबार विस्तार  

महाप्रसाद अधिकारी, गभर्नर

नेपाल राष्ट्र बैङ्क

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन/परिमार्जनसमेत गरी ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९’ जारी गरिएको जानकारी दिँदै समीक्षा अवधिमा विद्युतीय भुक्तानी कारोबारमा व्यापक विस्तार भएको बताउनुभयो । २०७९ वैशाखदेखि फागुन मसान्तसम्म रिटेल पेमेन्ट इन्ट्रमेन्टअन्तर्गतका आईपीएस, कनेक्ट आईपीएस, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट, क्यूआरमा आधारित भुक्तानी, पीओएस, ई–कमर्सलगायतका विभिन्न माध्यमबाट करिब ७४ खर्ब बराबरको कारोबार भएको भन्दै उहाँले यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.३ प्रतिशतले बढी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार