सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका–९ को चौरासेको राउटे बस्तीमा मदिरा सेवन गरी होहल्ला गर्ने एक युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ । शुक्रबार राति राउटे समुदायको बस्तीमा मदिरा सेवन गरी एक युवक प्रवेश गरेका थिए । बस्तीमा होहल्ला गरेपछि राउटे समुदायका युवाले ती युवकलाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाएका थिए ।
यो एउटा प्रतिनिधि घटना मात्र हो । राउटे समुदाय बस्तीनजिकै अन्य समुदायको बस्ती पनि बस्न थालेपछि उनीहरूको सुरक्षामा चुनौती थपिएको छ । अन्य समुदायका मानिस विभिन्न बहानामा राउटे बस्तीमा प्रवेश गर्न थालेपछि असुरक्षा बढ्न थालेको राउटे समुदायका व्यक्ति नै बताउँछन् । राउटे समुदायका युवक दीपक शाहीले नयाँ नयाँ मानिस राउटे समुदायको बस्तीभित्र आउन थाल्दा आफूहरूलाई समस्या पर्ने गरेको बताए । उनले अन्य मानिस प्रवेश गर्दा अब सुरक्षाको आवश्यकता पर्न थालेको उल्लेख गरे । राउटे महिला, बालबालिका नयाँ मानिसबाट थप त्रसित हुन थालेको उनको भनाइ छ ।
राउटे समुदायको रेखदेखमा रहेका शिक्षक दुर्गा खत्रीले आफूले बारम्बार राउटे समुदाय असुरक्षित बन्दै गएको बताए । उनले राउटे बस्तीनजिकै अन्य समुदायको बस्ती बस्न थालेपछि सुरक्षा चुनौती थपिएकाले प्रहरी खटाउन आवश्यक रहेको बताए । पछिल्लो समय राउटे समुदायमाथि टिकटक बनाउने, भिडियो खिच्ने चलन बढेको हुँदा राउटेको गोपनीयता पनि सार्वजनिक हुन थालेको र त्यसले असुरक्षा बढ्न थालेको उनले बताएकाछन ।
यसैबिच दसैँमा भत्ता नपाएका राउटेले अहिले भत्ता पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएका कारण उनीहरूलाई गाउँपालिकाले राउटे बस्दै आएको सुर्खेतको लेकबेँसी नगरपालिकाको चौरासेमा पुगेर भत्ता वितरण गरेको हो । भत्ता पाएपछि हात हातमा नगद बुझेका राउटेहरू मदिराको लतमा फसेका छन् । पछिल्लो समय राउटेलाई नगदको सट्टा चामल तथा जिन्सी सामान उपलब्ध गराउनुपर्ने आवाज उठेको छ । मदिराको लतका कारण उनीहरूमा सुरक्षा चुनौती बढेको बताइएको छ ।