काठमाडौं, भदौ १६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्ताव उपर छलफल भएको बताउनु भयो ।
उहाँले महामन्त्री थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव छलफल भई सोही दिशामा अघि बढ्ने निर्णय भएको बताउनु भयो । प्रवक्ता डा. महतले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पुर्याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताउनु भयो । सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ ।
त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता महतले भन्नुभयो, ‘‘गठबन्धनका सम्बन्धमा पनि जुन प्रस्ताव महामन्त्रीको प्रस्तावमा आएको थियो । अहिलेको परिवेशमा सबै कुरालाई मध्यनजर गरी पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्नेतिर नै निर्णय केन्द्रित भएको छ ।’’
उहाँले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताउनु भयो ।
महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लिखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो ।