साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  68 पटक हेरिएको

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए। उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु. तीन लाखका दरले पुरस्कार पाउनेछन्।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे।

उनले भने‚ ‘विजेता भइएन भन्दैमा दुःख नमानौँ। तेन्जिङ नोर्गे पनि एकैपटकमा नभई आठौँपटकमा सगरमाथा पुग्न सफल भएका थिए। आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए।

त्यस अवसरमा खेलाडीहरूले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी व्यक्त गरेका थिए। उनीहरूले खेलमा मात्रै ध्यान दिएर खेल्न आर्थिक र मानसिक रूपमा सहयोगका लागि पनि आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार