२७ फागुन, काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको काठमाडौंमा खासै प्रभाव परेको छैन । तर, बन्दका कारण मधेसका जिल्लाहरु भने ठ
प्पप्रायः छन् ।
काठमाडौंका सडकमा नियमित भन्दा केही कम मात्रामा सार्वजनिक तथा निजी सवारीसाधान चलेका छन् । बजार पसलहरु पनि खुलेका छन् । तर, मधेसका जिल्लाहरुमा भने सवारीसाधान चलेका छैनन् । बन्दका कारण मधेसका नागरिकको दैनिकी प्रभावित भएको छ ।
सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्दको आहृवान गरेको हो । घटनापछि सप्तरी जिल्ला निरन्तर रुपमा बन्द छ । पाँचौं दिन पनि बन्द जारी रहँदा सप्तरीका नागरिकको जनजीवन प्रभावित भएको छ ।
गठबन्धनले मृतकलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत, घटनाको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न आन्दोनलका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।
सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

862 पटक हेरिएको 

