लमजुङ । बसाइसराईले नेपालका पहाडी क्षेत्रका प्रायः सबै गाउँहरू आक्रान्त छन् । लमजुङमा पनि बसाईसराईको चपेटामा नपरेको प्रायः कुनै पनि गाउँ भेटिदैन तर यौटा यस्तो गाउँ पनि छ, जहाँ ढुंगामा पैसा फल्न थालेपछि बसाईसराई रोकिएको मात्र छैन, बसाईसराई गरेर गएका पनि गाउँ फर्कन थालेका छन् ।
त्यो गाउँ लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ५ मा रहेको खानी गाउँ हो । सो गाउँमा २०७२ सालदेखि रक गार्डेन अर्थात ढुंगा(चट्टान)को बगैंचा बनाएर ढुंगामा पैसा फलाउन थालेपछि त्यस्तो सम्भव भएको हो । यतिबेला सो गाउँमा ढुंगे बगैंचासहितको होमस्टे सञ्चालनमा ल्याइएपछि त्यस्तो परिणाम प्राप्त भएको स्थानीय बताउँछन् । त्यसको परिकल्पनाकार हुन् स्थानीय कामसार्की गुरुङ । पेशाले तत्कालीन शिक्षक हाल निवृत्त रहेका उनले आफ्नो सानो गाउँ, त्यसमा पनि बसाई सर्न थालेपछि त उजाड हुने भयो भन्ने मनमा पिरलो लाग्न थाल्यो भन्छन् ।
खासगरी २०७२ सालको भूकम्प पछि गाउँलेहरू बिचलित भए, तीन परिवारले एक साथ बसाईको तयारी गरेको थाहा पाएँ । अरु २, ३ परिवारको पनि त्यस्तै गाइँगुइँ सुने । त्यसपछि विकल्प सोच्न बाध्य भए विकल्प अर्थात गाउँलेहरूलाई पलायन हुनबाट रोक्ने ’boutमा उपायको खोजीमा लाग्दा लाग्दै ‘ढुंगे बगैंचा’ बनाउने र त्यसबाट पैसा कमाउने(फलाउने) सोच आयो र त्यो प्रयास गरेको उनले बताए ।
‘गाउँलेसँग सल्लाह गर्न गाउँ भेला डाकियो तर त्यसमा धेरैले सम्भव नहुने कुरा गरे र निरास नै बनाउने स्थिति समेत उत्पन्न भयो तर मैले हार खाइन ।’ उनले भने, ‘ढुंगे बगैंचा निर्माण गरियो, त्यसको प्रचारप्रसार पछि हेर्न आउने मान्छे बढ्न थाले, उनीहरू दिउँसो खाजा खान खोज्ने, राती बास बस्न चाहना व्यक्त गर्न थाले, त्यसपछि, म आफू समेत अन्य पाँच जना मिलेर सुरुमा छ घरबाट होमस्टे थालियो ।’ ऐले गाउँलेको आर्थिक हैसियत बदलिएको छ र मानिसहरू बसाइँसर्ने ’सोच्न छाडेका छन् । त्यतिमात्र हैन त्यसअघि बसाइँ गएका पनि फर्केका छन् कामसार्कीले जानकारी दिए ।
स्थापनाकालीन दिनको स्मरण गर्दै उनले भने, ‘ढुंगे बगैंचा व्यवस्थापनका लागि बजेट खोज्ने काम गरियो ।’ तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिको सहयोगमा श्रमदान समेत गरेर ढुंगे बगैंचाको बाटो निर्माण गर्ने काम गरियो । त्यसको प्रचार प्रसार गर्न थालियो, विस्तारै पर्यटकहरूको आउजाउ बढ्न थाल्यो, मैले त्यो बेलामा देखेको सपना साकार हुँदै आएको छ कामसार्की गुरुङले गर्वका साथ भने ।
उनका अनुसार होमस्टे समितिमा म त्यो बेलामा आफू शिक्षक भएका कारण पनि समितिमा बस्न मिल्दैन भनेर गाउँलेहरूलाई राखिदिएँ । त्यसमा पनि महिलाहरूले खान पिनको काम गर्ने हुँदा तपाईहरूको मात्र समिति बनाउने म आवश्यक सल्लाह दिउँला भनेर मनाउने काम गरेको ती दिन सम्झदै उनले भने, ‘समितिमा बसेपछि उनीहरू थप उत्साहित भए, काम हुन थाल्यो ।’ होमस्टे समितिमा सबै महिला मात्र छन् ।
हुन त मानिसहरूमा बगैंचा भन्ने बित्तिकै फलफूलको मात्र हुन्छ भन्ने भ्रम पनि छ । त्यो मान्यतालाई खानी गाउँका बासिन्दाले गलत सावित गरिदिएका छन् । जहाँ ढुंगालाई सजाएर अर्थात बगैंचाको रुपमा विकसित गरेर पैसा फलाइरहेका छन् । रक गार्डेन सञ्चालनमा ल्याउनुको उद्देश्य हाम्रा पुर्खाहरू पहिले पहिलेका वर्षहरूमा यस्तै जंगल, पहरा, गुफाबाट हुर्कदै, विकसित हुँदै आएको इतिहास छ, त्यो स्थितिसँग थोरै भने पनि आधुनिक मानिसहरूलाई बोध गराउने पनि हो सो गार्डेनका परिकल्पनाकार कामसार्कीले भने ।
उनका अनुसार रक गार्डेनमा इतिहाससँग पनि जोडिएको छ, उहिल्यै बाइसे चौबीसे राज्यका पालामा त्यो गाउँबाट करिब १० मिनेट पैदल दुरीमा रहेको घेर्मु गाउँमा घले राजाले राज्य गर्दथे, त्यो बेलामा राजाको घोडा बाध्ने गरेको तबेला गुफा छ । त्यस्तै अर्को चमेरे गुफा पनि सोही गार्डेन भित्र रहेको पनि कामसाकीले जानकारी दिए ।
त्यसो त खानी गाउँ नेपालका प्रमुख १० पदमार्ग मध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको मुलबाटोमा पर्ने स्थल हो तर पनि गाउँलेहरू व्यापारव्यवसायतर्फ खासै लागेका थिएनन् । उनीहरू परम्परागत खेती किसानी तथा पशुपालनमै व्यस्त थिए । तर यतिबेला भने गाउँहरू खेती गर्दा पनि आधुनिक तरिकाले गर्ने भएका छन् । केहीले व्यवसायिक तरकारी खेती गरेका छन् भने केहीले कुखुरा पालन तथा बाख्रा पालन व्यवसाय अपनाएका छन् ।
गाउँमै होमस्टे सञ्चालन भएको हुँदा उनीहरूले उत्पादन गरेको तरकारी, कुखुरा तथा खसी, बोकाका लागि बजारको समस्या नभएको स्थानीयबासी रक गार्डेनको संस्थापक अध्यक्ष रहेकी सीता गुरुङले बताइन् । उनका अनुसार ढुंगे बगैंचाले गाउँलेको जीवनमा कायापलट नै गरिदिएको छ । उनले भने, ‘सुरुका दिनमा त के होला र ? भन्ने लाग्दथ्यो तर पछि त काम गर्दै गएपछि मानिसहरूले रुचाउन थाले, रक गार्डेन हेर्नका लागि भनेर पनि मानिसहरू आउने गर्दछन्, राम्रो भएको छ ।’
सुरुका दिनमा ढुंगे बगैंचाको घुम्ती बाटोमा प्रवेशद्वारमा नंबर लेख्ने कार्यमा स्थानीय ताघ्रिङ– घेर्मु बचत तथा ऋण सहकारी संस्थाले पनि सहयोग ग¥यो । ऐले होमस्टेमा फेरि छ घर थप भएर १२ घर पुगेको छ । खानी गाउँमा जम्मा २६ घर परिवार बसोबास गर्दछन् । ती परिवारमा एक घर दलित जातिको छ भने अन्य सबै गुरुङ हुन् सो वडाको वडासदस्य समेत रहेकी रक गार्डेन होमस्टेकी पूर्वअध्यक्ष सीता गुरुङले बताइन् ।
‘ढुंगे बगैंचा’मा ढुंगाहरूकै अन्तरबाट एकतर्फबाट छिरेर अर्कोतर्पm निस्कने, ढुंगा माथि माथि एक ठाउँबाट अर्को स्थलमा जाने, ढुंगामाथि चढेर ’roundको दृश्यावलोकन गर्न पाउँदा मानिसहरू दङ्ग पर्ने गर्छन् । ‘ढुंगे बगैंचा’मा पनि चक्रीय स्वरुपको बाटोको प्रवन्ध गरिएको छ । सो स्थल परिक्रमा गर्दा एक घण्टादेखि सवा घण्टा लाग्ने गर्दछ रक गार्डेन होमस्टे व्यवस्थापन समितिका अध्यक्ष युकुमारी गुरुङले बताइन् । उनका अनुसार छ घरबाट सुरु भएको होमस्टे ऐले १२ घरमा सञ्चालित छ । ‘होमस्टेका घरहरूमा एक घरमा कम्तिमा दुई जनादेखि बढीमा १५ जनासम्म राख्न सक्ने क्षमता छ ।’ उनले भनिन्, ‘कुल ८० जना मानिस एक साथ आएर खाने, बस्ने गर्न सक्छन् ।’
होमस्टेमा आउने पाहुनालाई गुरुङ संस्कार, संस्कृति अनुसार सेतो टिका र माला लगाएर स्वागत गर्ने र उहाँहंरू बिदा भएर जाने बेलामा पनि त्यसरी नै बिदाई गर्ने चलन रहेको होमस्टे व्यवस्थापक समितिकी सचिव देवकुमारी गुरुङले बताइन् । उनका अनुसार पाहुनाको लागि पुरै अर्गानिक खाजा, खाना सकेसम्म यही गाउँ, छिमकेमा उत्पादन भएका वस्तुहरूका परिकार बनाएर खुवाउने गर्दछौं । उनले भनिन्, ‘कोदोको सेल रोटी, मकैको खट्टे, भट्ट, टिमुर तथा गुन्द्रुकको अचार, मोही, स्थानीय क्षेत्रमा उत्पादन भएको कोलोबोडीको दाल, स्थानीय धानबाट तयार गरेको चामलको भात, मौसम अनुसार पाइने सागहरू बन्दा, काउली, बोडी, सिस्नो, निउरोको तरकारी आदि खुवाउने गरिएको छ ।’
पाहुनाका लागि एक छाक खाजा, साँझको खाना, रातमा सुतेको र भोलिपल्ट बिहानी नास्ता सहितको खर्च प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने गरेको रक गार्डेन होमस्टेका संस्थापक अध्यक्ष सीता गुरुङले जानकारी दिइन् । उनका अनुसार प्रायः खसी खाने टोली आउँछन्, पाहुना आउँदा सकेसम्म होमस्टे नभएको घरको सामग्री खरिद गर्ने गरेका छौं । उनले भनिन्, ‘यहाँ आउने पाहुनामध्ये कसैको यदि जन्म दिन परेको हामीलाई अग्रिम जानकारी भयो भने होमस्टेकोतर्फबाट सानो केक, फूल, माला केही न केहीले आश्चर्यमा पर्ने गरी कुनै न कुनै कार्यक्रम हामीले गरका हुन्छौं ।’ पाहुनालाई खसी बोका खुवाउनका लागि ऐले गाउँलेहरूले बाख्रा पालन फर्म नै चलाउन थालेको समेत उनले बताइन् । हरेक घरमा ५– ६ वटा बाख्रा छन्, लोकल कुखुरा पनि छ तर हाम्रोमा कुखुरा भन्दा पनि खसी बोका खाने टोलीहरू नै बढी आउने गरेका छन् उनले जानकारी दिइन् ।
रक गार्डेन रहेको गाउँको नाम खानी गाउँ के कसरी रहेको होला भन्ने जिज्ञासामा सीता गुरुङले भनिन्, ‘उहीले यो गाउँमा नुन खानी थियो रे ! पछि त्यो खानी पहिरोले पुरिएछ । तर पनि यो ठाउँको नाउँ भने खानी गाउँ भनेर चलिरहेको छ ।’ उनका अनुसार पाहुनाका लागि यसअघि कोदोको मात्र शुद्ध स्थानीय रक्सी उत्पादन गरी इच्छुकहरूलाई सेवन गराउने गरेकोमा गएको दुई वर्षदेखि फलफूलहरू काफल, जमुन्द्रो, च्युरी, अलैंची, किम्बु, सुन्तला, अम्बा आदिबाट मौसम अनुसार स्थानीयस्तरमा उत्पादिन मदिराको स्वाद पनि चखाउने गरिएको छ । उनले भनिन्, ‘फलफूलको रक्सी बनाउने तरिका पनि कोदोको जस्तै हो तर हामीलाई तालिम दिने बेलामा रक्सी नभनी ‘वाइन’ भन्नु भनेर सिकाउनु भएको छ ।’ फलफूलबाट ‘वाइन’ बनाउन गाउँमै तीन दिने तालिम आयोेजना गरेर सिकेको सीताले उल्लेख गरिन् ।
ऐले बसाई सरेर गएका सोही गाउँका डम्बरजङ गुरुङ १३ वर्ष पछि गाउँमा फर्केका छन् । त्यस्तै, विदेशमा रोजगारका लागि गएकाहरू समेत गाउँमा आएर केही न केही उद्यम गर्ने भनेर फर्कदै छन् । मैले पनि मलेसियामा रहनु भएका आफ्ना श्रीमान्लाई छिटो गाउँमा फर्कने सल्लाह दिइरहेको छु सीता गुरुङले उल्लेख गरिन् ।
सो गाउँ लोकसंस्कृतिको संरक्षणका लागि पनि उत्तिकै सक्रियताका साथ जुटिरहेको छ । गाउँलेहरूले पाहुनाको रुचि अनुसार आधादेखि एक घण्टाको थिएटर सहितको गुरुङ संस्कृति एवम् झ्याउरे गीत र नाँचबाट पाहुनलाई मनोरञ्जन दिने गरेको होमस्टेका परिकल्पनाकार एवम् ठाडभोका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य कामसार्की गुरुङले बताए ।
खानी गाउँ जानका लागि यतिबेला भने सजिलो भएको छ । बेसीशहरचामे सडकको भूलभूले बजारसम्मको सडक खण्डमा कालोपत्रे भएको छ । त्यहाँदेखि बेसीशहर चामे सडक खण्डको रामबजारसम्म जिप वा मानाङ जाने ठूलो बसबाट पनि जान सकिन्छ । रामबजारमा ओर्लिएर त्यहाँको मस्र्याङदी नदीमा रहेको झोलुंगे पुल तरेपछि ८– १० मिनेटको पैदाल दुरीमा ढुंगाको पैसा फल्ने ठाउँ अर्थात ढुंगे बगैंचामा पुग्न सकिन्छ ।