गोरखा । यस वर्षको शरद ऋतुमा सेप्टेम्बर–नोभेम्बर मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका आरोहीले अनुमति लिएका हुन् ।
अनुमति लिनेहरूमध्ये १६९ पुरुष र ५५ महिला छन् । उनीहरूबाट मात्रै रु नौ करोड ४३ लाख २२ हजार ८६ राजस्व संकलन भएको विभागले जनाएको छ ।
यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहणको तयारी गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि एक जनाले मात्र अनुमति लिएका छन् भने ल्होत्से आरोहणका लागि दुई जनाले अनुमति लिएका छन् । ७ हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जना र छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।
गत वर्षको यही सिजनमा ४०१ जनाले मनास्लु आरोहण अनुमति लिएका थिए । हाल सामागाउँ क्षेत्रमा डोरी टाँग्ने रोप फिक्सिङ काम भइरहेको छ भने आरोहीहरू त्यहाँ पुग्न थालेका छन् ।
देशभर हेर्दा चीनका सबैभन्दा धेरै ४३ आरोहीले अनुमति लिएका छन् । त्यसपछि पोल्याण्डका २५, रुस र नेपालका २३–२३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ र क्यानडाका १० आरोही रहेका छन् ।
पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीका अनुसार शरद ऋतुको आरोहण सिजन बल्ल सुरु भएकाले आगामी दिनमा अझ बढी आरोही अनुमति लिन आउने अनुमान गरिएको छ ।