१७ फागुन, काठमाडौं । स्थानीय चुनावको तयारीमा जुटेको निर्वाचन आयोगलाई करिव २५ हजार मत पेटिका अभाव भएको छ ।
विगतको चुनावमा मतपेटिका उपलब्ध गराउँदै आएको जापानले भने समय छोटो भएको भन्दै उपलब्ध गराउन नसक्ने संकेत दिएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय चुनावमा ८० लिटर क्षमताका मतपेटिका प्रयोग हुने देखिएको छ । यस्तो मतपेटिका आयोगसँग करिव २० हजार छ । थप २५ हजार मतपेटिका आवश्यक पर्ने देखिएको सचिव गोपी मैनालीले बताए ।
आयोगले हालै मात्र नेपालस्थित जापानी राजदूतलाई बोलाएर मतपेटिका उपलब्ध गराउन सकिन्छ भनेर सोधेको थियो । तर, समय छोटो भएको भन्दै उसले घुमाउरो भाषामा मतपेटिका उपलब्ध गराउन नसकिने जवाफ दिएको छ ।
अघिल्ला चुनावहरुमा मतपेटिका उपलब्ध गराउन ५ महिना समय दिइएको थियो । तर, अहिले तीन महिना पनि समय छैन ।
आयोगले अब यूएनडीपीसँग सहयोग माग गर्ने वा टेण्डर प्रक्रियाबाट खरिद गर्ने भन्ने विकल्पमा गृहकार्य गरिहेको छ । यूएनडीपीसँगले समय उपलब्ध गराउन नसके अन्तिम विकल्पका रुपमा खरिद प्रक्रिया अघि बढाउने भन्दै निर्वाचन आयोगका सचिव मैनालीले अनलाइनखबरसँग भने, ‘संक्षित प्रक्रिया अन्तरगत सूचना जारी गर्छौं ।’

822 पटक हेरिएको 

