जनकपुर । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताल्चा लागेको छ ।
अंग रक्षक सहित राष्ट्र बैंक पुगेका आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले केही वेर बैंक कर्मचारीसँग बार्ता गरे । बैंक कर्मचारीले राष्ट्र बैंक केन्द्रको लिखित आदेश नआएसम्म बन्द गर्न नसकिने बताएपछि मन्त्री यादवले बैंकको गेटमा ताल्चा लगाइदिएका हुन् ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरेपनि संघीय सरकार मातहतका कार्यालयले केन्द्रीय सरकारले विदा नदिएको भन्दै विदा दिन मानेका थिएनन् । विदाको अनुगमन गर्न प्रदेश सरकारका मन्त्री आफैं निस्केका थिए ।
संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले विदा दिन नमानेपछि बाध्य भएर ताला लगाउनु परेको मन्त्री यादवले बताए ।
मुस्लिमहरुको पर्व कुर्वानीका दिन पनि प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयहरुले अटेरी गरेको थियो ।

937 पटक हेरिएको 

