पर्यटकिय गन्तब्य स्थल राेल्पाकाे होलेरी

  के.बी.मसाल  3966 पटक हेरिएको

के.बी.मसाल

दाङ घोराहीबाट करिव डेडघण्टाको बसको यात्रामा पुगिन्छ होलेरी । होलेरी पुग्ना साथ देखिन्छ प्रकृतिको सुन्दर उपहार । महाभारत पर्वतको डाडामा रहेको होलेरी बजार ! बजारबाट देखिने सुन्दर गाउँका बस्ती ! अझ काफल र ऐसेलु खाने सिजनमा पुग्ने पर्यटकहरु त झनै हर्षित हुन्छन । डाडापाखा भरी लालिगुरासको फुलले होलेरीको वातावरणनै रमाइलो बनाइ दिएको हुन्छ ।

घोराही देखि होलेरी जाने पर्यटकहरु सहीदमार्ग वरपरका प्राकृतिक दृष्य हेर्दैमा रमाउछन । वाह्रकुनेदह, दुइखोली हुदै जब तोसमा पुग्दछन । कहिल्य पनि त्यो मार्गमा नहिडेको मानिस एकैछिन आत्तीएर लामो सुस्केरा हाल्छ ! कबारण हो, पहाडी श्रृखलामा निर्माण भएको मोटर मार्ग । तर यात्रामा जति उकालो चढदै जान्छ पर्यटकहरुले हातहातै भएको क्यामेरासहितको मोवाइल फोन खिचिक्क, खिचिक्क, खिचिक्क ! हुन थाल्छ । मोवाइल मात्र हैन, ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउने पर्यटकहरुको सख्या पनि कमी हुदैन । जब तोश गाउँमा पुग्दछन् कोईलाखानी कहिल्य नदेखेका पर्यटकहरु अचम्म मान्दछन । डाडा भरीनै कोईलाखानी र सडक किनारमा भण्डार गरिएका कोइला । उकालो चडदै जादा लालिगुरासका फुल्ने समयमा होलेरी जाने पर्यटकहरुले ढकमक्क फुलेको गुरासको फुल समेत देख्न पाउछन । अझ होलेरी पुग्नु भन्दा पहिले दाङ छिरीको भञ्ज्याङबाट दाङ उपत्यकालाई हेर्नु भयो भने दाङ उपत्यकाको धेरै गाउँ र बस्ती देख्नुहुने छ ।

कुनै बेला होलेरीको त के कुरा रोल्पा जिल्लाको नाम लिदैमा मानिसहरु डराउथे । तत्कालिन माओवादी पार्टीले २०५२ फागुन १ गते देशमा जनयुद्धको घोषणा ग¥यो । नेकपा माओवादीद्वारा प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ ! भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआती रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरु र गोरखाको च्याङली टारमा रहेको कृषि विकास बैक कब्जा गरिएका थिए ।
द्वन्द्वको बेला सबै भन्दा बढी मानवीय क्षतिदेखि भौतिक पूर्वाधार क्षती पनि रोल्पाले ब्यहोर्नु प¥यो । दोस्रो पटकको होलेरी आक्रमणमा ७२ जना प्रहरीहरु माओवादीको कब्जामा समेत परे । तर आजभोली यी घटना होलेरीको लागि कथा जस्तै बन्न थालेका छन । तर पनि नयाँ मानिस होलेरी पुग्ना साथ यी कुराहरु कोटयाउन चाहन्छ ।

दशबर्षे द्वन्द्वमा थला परेको होलेरीले बिस्तारै काँचुली फेर्न सुरुवात गरेको छ । होलेरीमा विकासका आयाम थपिदै गएका छन । होलेरीमा नया अनुहारका पर्यटकहरु पुग्न थालेका छन । दाङ घोराहीबाट रोल्पा, रुकुम जाने प्रमुखद्धारको रुपमा लिइने होलेरी क्षेत्रलाई वदलिदो विकासोन्मुख परिबेशले छुन थालेको छ । होलेरीले विस्तारै परिवर्तनको काँचुली फेर्दै गरेको छ । घोराही देखि होलेरी सम्मको ३० कि.मी मोटर मार्ग कालोपत्रे भएको छ । सडक मार्ग सजिलो भए पछि आजभोली गर्मीको समयमा शहर बजारको कोलाहल धुलो धुवाको वातावरणबाट छोटो समय भएपनि प्रकृतिसंग रमाउन तराइका शहरी क्षेत्र देखि आन्तरिक पर्यटकहरु होलेरी जान थालेका छन ।

सहिद मार्गअन्तर्गत पर्ने होलेरी बजार थबाङ र स्वर्गद्वारी सडकको संगमस्थलका रुपमा रहेको छ । होलेरीलाई कुहिरो मुनीको बजार भनेर पनि चिनिने गरिन्छ । बर्षाकालिन समयमा होलेरी बिहानै देखि कुहिरोले ढाक्ने गर्दछ ।
होलेरी आसपासका पर्यटकियस्थलहरु घुम्नको लागि असोज देखि मङसिर र फागुन देखि जेष्ठ महिना उपयुक्त मानिन्छ । यो समयमा होलेरीको मौसम सफा हुन्छ । होलेरीमा आजभोली होटल ब्यवसाय बढेको छ । होटल मात्र नभएर अन्य व्यापार व्यवसाय, बैङिक सेवा, साईबर सेवा सन्चार गृह भएपछि जनघनत्वमा पनि बृद्धि हुँदै जान थालेको छ । होलेरीमा पुराना घर विस्थापित हुँदै नयाँ र पक्की घर निर्माण हुने क्रम बढदो छ । गर्मीयाममा दाङ लगायतका तराई क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले ठूलो लगानीमा सुविधायुक्त होटल निर्माण गर्ने क्रम बढेको छ । जुन कारणले आजभोली होलेरीमा विकासका आयाम थपिँदै गएका छन् । घोराही देखि प्यूठानको स्वर्गद्वारीसम्म पुग्न होलेरी हुँदै जानुपर्ने भएकाले यस क्षेत्रको महत्व बढेको छ । अको तर्फ घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुम र डोल्पासम्म पुग्ने सहिदमार्गका कारणले पनि होलेरीको विकासले गति लिएको छ ।

होलेरी पुगेपछि पर्यटकहरुको पहिलो रोजाइ हुन्छ, गढीलेक पुग्ने । गढीलेक समुद्री सतहबाट करिब २ हजार मिटर उचाईमा पर्दछ । होलेरी बजारदेखि करिव ३ कि.मीको उच्च पहाडको श्रृखलामा रहेको गढीलेकमा पुग्न कच्ची मोटर मार्ग समेत पुगेको छ । पैदल यात्रामा जान रुचाउने पर्यटकहरुको लागि होल्लेरीबाटै सिढीको बाटो पनि पुग्न सकिन्छ । गढीलेकमा भ्युटावर निर्माण गरिएको छ । भ्युटावरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे निलगिरी लगायत हिमालय श्रृखलाको दृश्यावलोकन गर्न सकिन्छ । गढीलेकबाट हिमाल मात्र होइन तराईका समतल मैदान र धेरै जिल्लाका गाउँ र बस्तीहरु सफा मौसम भएको बेला देख्न सकिन्छ । दक्षिण रोल्पाको होलेरी रुन्टीगढी गाउँपालिकामा पर्दछ । गढीलेक प्राकृतिक र धार्मिकरुपले महत्व स्थल हो । पहाडको वरिपरि रहेको खुला लेकबाट दृश्यावलोकन गर्न पाउदा पर्यटकहरु रमाउछन ।

गढीलेकमा स्वर्गद्वारी जानुअघि प्रभुले गढीलेकमा तपस्या गरी ज्ञान प्राप्त गर्नु भएको भन्ने विश्वास छ । गढीलेकमा प्रभु महाराजका गुरु स्वामी सच्चिदानन्द गिरी र स्वामी रघुनाथको समाधि पनि रहेको छ । गढीलेकमा बाइसे चौविसे राजाको दरबार रहेको स्थान मानिन्छ । जुन कारणले गढीलेक ऐतिहासिक महत्वको र सामरिक महत्वको स्थान मानिन्छ । होलेरी पुग्ने तीर्थाटनका पर्यटकहरुका लागि गढीलेक गन्तब्य मानिएको छ । गढीलेकमा शिवजीको मन्दिर पनि रहेको छ । शिवरात्रिको दिन गढीलेकमा मेला समेत लाग्दछ ।

होलेरी पुग्ने पर्यटकहरुले अर्को पुग्नै पर्ने स्थान हो रुन्टी गाउँ । सखीमा रहेको रुन्टी गाउँ स्वर्गद्वारी महाप्रभुको जन्म स्थान हो । रुन्टीमा महाप्रभुको जन्म दिन श्रावण एकादशीमा २४ घण्टै अखण्ड कृतन र भजन गर्ने गरिन्छ । महाप्रभुको शिवालयमा दैनिक पूजापाठ हुने गर्दछ । यसका लागि स्वर्गद्वारी आश्रमले पूजारी खटाएको छ । विवाह, रुद्री, व्रतवन्ध गर्न छिमेकी गाउँका मानिसहरु पनि रुन्टीमा पुग्ने गर्दछन । महाप्रभुको जन्म स्थानमा मन्दिर निर्माण गरी प्रतिमा राखिएको छ । महाप्रभुले प्रयोग गरेको खराउ एक जोर सुरक्षित राखिएको छ । महाप्रभुको जन्म वि.स. १९१६ साल श्रावन शुक्ल एकादशीको दिन भएको हो । बुवा अनिरुद्र गौतम र आमा स्वेता खत्रीको जेठो छोराको रुपमा जन्म लिनु भएको थियो । महाप्रभुले रुन्टी गाउँ नजिकै सखिलेकको गुफामा आफ्नो ध्यानको स्थल बनाउनु भएको थियो । जुन गुफा अहिले पनि संरक्षित नै छ । झन्डै ३५ बर्ष रुन्टीमा बिताएर प्रभु शान्त स्थान खोजी गर्दै प्यूठानको स्वर्गद्वारीमा पुग्नु भएको हो । पछि विसं १९५२ मा विश्व कल्याणका लागि स्वर्गद्वारीमा अखण्ड महायज्ञ सुरु गर्नु भयो ।

होलेरीदेखि उत्तरमा पर्ने रुन्टी गाउँमा महाप्रभुको पुख्र्याैली तीनवटा घर छन् । रुन्टी गाउँमा अहिले १५ घरधुरी रहेका छन् । महाप्रभुका बाँकी परिवार भने दाङमा बसाइ सरिसकेका छन् । तीर्थाटन पर्यटकहरु को लागि रुन्टी गाउँ आध्यात्मिक चिन्तन र साधनाको लागि गन्तब्य मानिन्छ । रुन्टी गाउँ रमणिय सखीलेकको काखमा रहेको छ । सखीलेक प्राकृतिक अनेक प्रकारका वनस्पतिले सजिएको छ । रुन्टीमा बचपनमा प्रभुले तपस्या गरेको तपभूमि, घना जंगल, गुफा, मन्दिर, कुटी, धर्मशाला, यज्ञशाला, मेघारम्भ यज्ञ र महायज्ञ गरेको स्थान र काशीबाट आएका स्वामी सच्चिदानन्दद्वारा प्रभुले सन्यास दीक्षा लिएको स्थान अहिले पनि हेर्न सकिन्छ । महाप्रभुले जन्मे हुर्केको र आधा जीवन बिताएको रुन्टी गाउँमा आजभोली स्वर्गद्वारीमा पुग्ने तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । होलेरी बजार देखि १७ कि.मी.को दुरीमा रहेको रुन्टी गाउँ पुग्न होलेरी दहवन बिचमा पर्ने खस्रेबाट मोटर मार्ग बनेको छ ।

होलेरी बजार नजिकै रुन्टीगढी गाउँपालिका वडा नं ७ झेनामको गैरा गाउँमा शिव पार्वती गुफा पनि पर्यटकहरुको लागि थप अवलोकन स्थल बन्दछ । होलेरी बजारबाट केही उत्तर पुर्वमा रहेको शिव पार्वती गुफामा पैदल यात्रामा आधा घण्टा र साना सवारी साधनमा १० मिनेटमा पुग्न सकिन्छ । झट्ट हेर्दा अण्डा आकारको देखिनेगुफा १५ मिटर चौडाई २७ मिटर उचाई र ६० मिटर लम्वाई रहेको छ । शिव पार्वती गुफा भित्र शेष नाग, गणेश भगवान, शिव, पार्वती, शिवलिङग,ऋषिमुनिहरु का दृश्यहरु झल्कीने आकृतिहरु देख्न सकिन्छ । शिव पार्वती गुफामा पिक्नीक स्पोर्ट, प्रतिक्षालय, मन्दिर, सिंढी, पिउने पानी, शौचालय लगाएतका भौतीक निर्माण भएको छ । आजभोली विशेष गरी शिव पार्वती गुफामा आन्तरीक पर्यटकहरु बढि पुग्ने गरेका छन ।

होलेरी पुग्ने ग्रामीण पर्यटकहरुले आफ्नो भ्रमण अवधी लम्वाउन सके होलेरी आसपासका पकेट तरकारी उत्पादन गर्ने गाउँहरुको पनि अध्ययन अवलोकन गर्न सक्दछन । होलेरीमा दुवीडाँडा, झेनाम, सखी र डुव्रिङ लगायतका किसानले उत्पादन गरेका तरकारी बुटवल, दाङ, नेपालगन्ज, काठमाडौं लगायत विभिन्न बजारमा पुग्ने गर्दछ । कृषिमा रुचि राख्ने पर्यटकहरुका लागि यी गाउँहरुमा भ्रमण गर्न सकिन्छ । अर्को तर्फ फागुन चैत्र बैसाखमा होलेरी पुग्ने पर्यटकहरुले ताजा काफलको स्वाद समेत लिन सक्दछन । रुन्टीगढीका गढीलेक, सखी, नयाँगाउँ, मसिना लगाएतका जंगल काफलको पकेट एरिमा पर्दछ ।

होलेरीमा पुग्ने कतिपय पर्यटकहरु तत्कालीन समयमा नेकपा माओवादीको लडाकु बसेको पाँचौ डिभिजन दहवन पुग्दछन । आजभोली दहवनमा माओवादी सेना बसेको पाँचौ डिभिजनको सुरक्षाका लागि नेपाली सेना बसेको छ । पर्यटनको लागि माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ । तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो । तत्कालीन समयमा नुवागाउँस्थित दहवनमा पाँचौं डिभिजनको मुख्य कार्यालय र तिलामा सहायक शिविर राखिएको थियो । संग्रहालयमा रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया र त्यसपछिको अवस्थाको बारेमा जानकारी मुलक अभिलेखीकरणका लागि संग्रहालय निर्माण हुन लागेको हो । संग्रहालय निर्माणपछि होलेरी पुग्ने पर्यटकहरुलाई अर्को गन्तब्य थपिने छ ।

आजभोली सबैको जीवनशैली दिन प्रतिदिन रुपान्तरित भइरहेको छ । शहर बजारमा बस्ने अधिकाशं मानिसहरु हप्ताको एकचोटि बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भएको छ । स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजाने गरेका छन । सरकारी, गैह्रसरकारी सघं संस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशनजस्तै बनेको छ । पर्यटनको क्षेत्रमा यसलाई सकारात्मक पक्ष मान्नु पर्दछ । भ्रमणमा निस्कने ग्रामीण पर्यटकहरुलाई गाउँका बस्तीबस्तीमा पु¥याउन सक्नुपर्छ । कलम र कम्प्युटरको किप्याडमा रमाउने बर्गलाई कम्तीमा पनि हलो, कुटो, कोदालो समाएर रमाउने गाउँ ठाउको भ्रमणले धेरै कुराको अध्ययन गराउने छ ।
जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । त्यसैले अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण महत्वपूर्ण मानिन्छ । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । त्यसैले पनि जीवनमा भ्रमणले मानिसलाई परिपक्वतातर्फ उन्मुख गर्नका लागि मद्दत गर्दछ । पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँडदा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरि यसलाई उपलब्धीमूलक बनाउन पर्दछ ।
भ्रमणले आर्थिक सामाजिक, धार्मिक, पर्यावरणीय, ऐतिहासिक, कृषि, शिक्षा, स्वास्थ्य, वन र प्रकृतिको अध्ययन गराउछ । तर नजिकको तिर्थ हेला भने ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक सम्पदा, धार्मीक मठ मन्दिर र यस्तै अन्य स्थलहरुमा हाम्रो भ्रमण गर्ने बानी कम छ । फुर्सद निकालेर एक पटक होलेरी पुग्ने हो की ?

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार