
काठमाडौं । पाँचौं अन्तर्राष्ट्रिय हिमालयन महोत्सव २४ मंसिरबाट हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको रूपमा ११ डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा नेपाल पर्वतारोहण संघको आयोजनामा सो महोत्सव पोखरामा हुनलागेको हो । संघले विगतका वर्षहरूको निरन्तरता स्वरूप यस वर्ष पनि पोखरामा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको हो ।
महोत्सव कास्कीको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रामा आगामी २६ मंसिरसम्म सञ्चालन हुनेछ । संघका अध्यक्ष सन्तवीर लामाले महोत्सवमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक नाच, झाँकीसहितको खेल पर्यटनको विकास गर्ने हेतुले दक्षिण एसियाकै म्याराथन धावक वैकुण्ठ मानन्धरको नामबाट ‘एनएमए वैकुण्ठ मानन्धर हिमालय म्याराथन’ आयोजना गरिने भएको बताए । संघका महासचिव कुलबहादुर गुरुङले अहिले यस महोत्सवको तयारी पूरा भएको बताए ।
महिला र पुरुष दुवै समूहमा म्याराथन आयोजना गरिने जानकारी गराउँदै उनले भने, ‘पुरुष समूहका लागि ४५ किलोमिटर र महिला समूहका लागि त्यसको आधा दूरी तय गरिएको छ ।’ म्याराथनमा सहभागीले फुस्रेखोला, निर्मल पोखरी, बागमारा हुँदै सोही स्थानसम्म सो दूरीमा दौडनुपर्ने छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ लाख, ५० र २५ हजार नगद पुरस्कारको व्यवस्था रहेको संघले जनाएको छ ।
यसैगरी, ‘एनएमए हिमालय साइक्लिङ’ र ‘एनएमए टोनी हेगन टुरिज्म पेन्टिङ’ विधाका प्रतिस्पर्धाहरूमा समेत पुरस्कार राशिको व्यवस्था छ । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङलगायतका जनजाति तथा समुदायबीचको सांस्कृति नाच एवं खानाका स्टलहरूमा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट तिनलाई नगद पुरस्कार प्रदान गरिने पनि संघले जानकारी दिएको छ । सो महोत्सवमा विशेषगरी, थकाली जातिले खेल्ने लोपोन्मुख तारा हान्ने, छेलो हान्नेका साथमा वोल्डरिङ क्लाम्बिङ समावेश गरिएको छ ।
त्यसैगरी, आगामी ११ डिसेम्बरको दिन अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा विश्व प्रसिद्ध हिमाल आरोहीलाई सम्मान गरिने कार्यक्रमसमेत रहेको संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिए । उनले तीन दिनसम्म चल्ने सो महोत्सवमा ४० वटाभन्दा बढी विभिन्न स्टलहरू रहने बताए ।
SUBSCRIBE YouTube Channel of MANASLU Television HD to See All the Programs That Broadcast-ed on MANASLU TV

1042 पटक हेरिएको 

