
काठमाडौं। इलाममा १० दिनदेखि आमरण अनशनरत डा. केसीलाई शुक्रबार राति ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
मुटुको चाल र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई स्वास्थ्य सेवा दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएका विशेषज्ञहरुले आईसीयूमा राखेर उपचार गर्न भनेका थिए । राति साढे १० बजे इलामबाट एम्बुलेन्समा भद्रपुर र त्यहाँबाट नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।
काठमाडौंमा ल्याइसकेपछि पनि सुरुमा डा. केसीले उपचार सेवा लिन मानेका थिएनन् । तर, प्राध्यापक केदारभक्त माथेमासहितको टोलीले आग्रह गरेपछि उनी राजधानी आउन राजी भएका हुन् ।
डा. केसीको मागमा ऐक्यबद्धता जनाउन इलाम पुगेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, शिक्षाविद् केदारभक्त माथेमा, डा. अभिषेक सिंहलगायतले डा. केसीलाई मनाएर काठमाडौं ल्याएका हुन् ।
चिकित्सकहरुका अनुसार डा. केसीको रक्तचाप निकै घटेको छ । यस्तै, छाती दुख्ने समस्या बढेको छ । मांसपेसी बाउडिने, शरीरमा अक्सिजनको मात्रासमेत कम भएको डा. केसीका सहयोगी प्रीतम सुवेदीले बताए ।
सरकारले डा. केसीसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले अहिले भएका विश्वविद्यालयबाटै थप मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने बाटो खुला राख्दै विधेयकमाथिको प्रतिवेदन पारित गरेपछि डा. केसीले २५ पुसदेखि आमरण अनशनको घोषणा गरेका हुन् ।
डा. केसी र सरकारबीच चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ को मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदनसमेतलाई दृष्टिगत गरी भन्ने शब्दहरु विधेयकको प्रस्तावनामा समावेश गर्ने सहमति भएको थियो ।
तर, ‘चिकित्सा शिक्षा सुधार गर्ने सम्बन्धमा विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदनको मर्म र भावनासमेतलाई दृष्टिगत गरी’ भन्ने शब्द विधेयकको प्रस्तावनामा समावेश गर्ने गरी विधेयक आएको छ ।
यस्तै, डा. केसी र सरकारबीच ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आइन्दा एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागू हुनेछैन । काठमाडौंबाहिरका शिक्षण संस्थाका हकमा आयोगले नीति निर्माण गरी निर्णय गरेबमोजिम हुने’ भनिएको थियो ।
तर, विधेयकमा ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन । तर, यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुनेछैन । काठमाडांै उपत्यकाबाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै कुराले बाधा पुग्नेछैन’ भनिएको छ ।
डा. केसी र सरकारबीच भएको सम्झौताबमोजिम विधेयक नआएको भन्दै अनशनरत केसीले अनशन जारी रहने बताउँदै आएका छन् ।
यस्तै, सरकारले विगतमा गरेको सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्नेलगायतका ६ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन हुने भएको छ ।
प्रदर्शन सोलिडारिटी फर डा. गोविन्द अलायन्सको अगुवाइमा हुन लागेको ऐक्यबद्धता अभियानका अभियन्ता प्रितम सुवेदीले जानकारी दिए ।

1074 पटक हेरिएको 

