काठमाडौं । सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरणका विषयमा अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ । विश्वको ध्यान नेपालमा केन्द्रित गर्न विश्व कूटनीतिक सम्बन्धको पहल नेपालबाटै सुरु गर्नेगरी संवादको आयोजना गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा मन्त्रालयमा आयोजित बैठकले प्रारम्भिक तयारीको विषयमा छलफल गरेको छ । बैठकमा विभिन्न पक्षको सुझाव लिने काम भएको र संवादमा छलफल हुने विषयमा तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । जलवायु परिवर्तनको फराकिलो विषयमा अबको एजेन्डा कसरी तय गर्ने भन्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । अर्को बैठक शुक्रबार पुनः बस्ने र अवधारणाको विषय र मिति तय हुने उनको भनाइ छ ।
विश्वकै उच्च शिखर सगरमाथाको फेदमा विश्व परिवेश झल्कने संवादको तयारी सरकारले तीव्र पारेको छ । संवाद आगामी मार्चको अन्त्यतिर हुनेछ । ‘सगरमाथा संवाद’ का नाममा परराष्ट्र मन्त्रालयको संयोजनमा कार्यक्रम गर्न लागिएको हो । यसले विश्वमा नेपाल चिनाउने मात्र हैन, विश्व राजनीति, बजार, लगानी र समृद्धिको अंश नेपालमा भिœयाउने अपेक्षा सरकारले गरेको छ । विश्व मञ्चमा नेपालको पहिचान बलियो बनाउने आधारका रूपमा सगरमाथा संवादलाई लिइएका परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।
संवाद कार्यक्रमका लागि दुईवटा कमिटी सगरमाथा सञ्चालन निर्देशिका समिति र जलवायु परिवर्तन आयोजक समिति गठन भएका छन् । नेपालले हरित गृह ग्याँस उत्सर्जन कम मात्रामा गरे पनि नेपालका हिमशृंखलामा गम्भीर असर परिरहेका विषयमा केही समयअघि ईसीमोडले देखाएको तस्बिरले झस्काएको छ । तापक्रम मापन १.५ प्रतिशतबाट नबढाउने प्रतिबद्धता भए पनि अहिले तापक्रमको असर त्योभन्दा बढिरहनु चिन्ताको विषय रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।
सगरमाथा संवादको पहिलो संस्करणका रूपमा जलवायु परिवर्तन र हिमालको विषय तय गरिएको छ । यसअन्तर्गत जलवायु परिवर्तनको असर, न्यूनीकरण र अनुकूलन मात्र हैन, पर्वतीय क्षेत्रको संरक्षण तथा त्यहाँका बासिन्दाको जीविकोपार्जन उकास्ने सम्बन्धमा नयाँ उपाय खोजी कार्यान्वयनमा जोड दिइएको छ । सगरमाथा संवादले विश्वमा बढ्दै गइरहेको तापक्रम वृद्धि र त्यसको प्र्रत्यक्ष ‘वाटर टावर’को रूपमा रहेको विश्वकै अग्लो सगरमाथाबाट विश्व समुदायलाई सचेत र सन्देश प्रवाह गर्न खोजेको जनाएको छ ।
कार्बन उत्र्सजनमा न्यूनतम योगदान पनि नभएको मुलुक नेपालले तापमान वृद्धिको असर कसरी भोगिरहेको छ र जलवायु परिवर्तनले के कस्तो असर भइरहेछ भन्ने विषयमा छलफल केन्द्रित रहनेछ ।

689 पटक हेरिएको 

