
डडेल्धुरा । समुद्री सतहदेखि करिब आठ सय मिटर उचाइमा, चुरे र महाभारत पर्वतको सिमानामा अवस्थित आलिताल प्रकृतिको अनुपम उपहार हो । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाले भरिपूर्ण यो ताल आज पनि “माल पाएर चाल नपाएको” अवस्थामै सीमित देखिन्छ । करोडौं रुपियाँ पूर्वाधारमा खर्च हुँदा पनि स्थानीय समुदायले तालबाट अपेक्षित आर्थिक लाभ लिन सकेका छैनन् ।
किंवदन्ती, आस्था र पहिचान
स्थानीय किंवदन्ती अनुसार, यस स्थानमा रहेको खेतमा २२ हल गोरु र २२ हली पुरिएपछि ताल बनेको मानिन्छ । यही ‘खेतका आलि भत्किएर ताल बनेकाले’ यसको नाम ‘आलिताल’ नाम रहन गएको विश्वास गरिन्छ । रोपाईको सिजनमा स्थानीय एक महिलालाई राती सपना हुन्छ । म त्यहा आउदै छु । तपाईहरु नजानु होला । बिहान ती महिलाले घरपरिवार र गाउँलेलाई सपना सुनाए र खेतमा नजान अनुरोध गर्नु हुन्छ । तर ती बृद्धाको सपनाको कुरा कोही कसैले मान्दैनन् ।
सबै खेतमा गएर रोपाई सुरु हुन्छ । ती महिला र उहाँका जेठाजु दिउसो खाना पकाएर रोपनाराहरु लाई खुवान जानेक्रममा भिषण वर्षा हुन्छ । खेतभन्दा केही माथि पुग्नै लाग्दा वर्षाले खेत, गोरु, हली, रोपाई गर्नेसबैलाई पुर्छ । ती महिला र जेठाजु खेतभन्दा माथि नै बेहोस भएर ढल्नु हुन्छ । अहिले पनि त्यहा जेठाजु नाको ढुंगा छ । स्थानीय गगन पुनमगरले भने ।
उनका अनुासर तालको पश्चिम किनारमा भगवती माता, मध्य किनारमा समैजी देवता र पूर्वतर्फ बाराह देवताको मन्दिर छन्। श्रीपञ्चमी, शिवरात्रि र माघे संक्रान्तिमा यहाँ मेला लाग्ने गर्दछ । भगवती पुज्नु भनिए पछि हालसम्म भगवती माताको पुजा हुदै आएको उनले बताए । आलिताल धार्मिक र सांस्कृतिक दृष्टिले यो क्षेत्रको केन्द्रबिन्दु भए पनि त्यसलाई आर्थिक गतिविधिसँग जोड्न सकिएको छैन ।
भौगोलिक आकर्षण, पहुँचको चुनौती
लम्बाइ करिब चा सय मिटर, चौडाइ दई सय मिटर र गहिराइ २२ मिटर रहेको आलिताल जिल्ला सदरमुकामबाट बागबजारबाट करिब ७० किलोमिटर र प्रदेश राजधानी धनगढीबाट करिब ८० किलोमिटर दूरीमा पर्छ ।
अत्तरिया–कडडेल्धुरा जोड्ने भिमदत्तअ राजमार्ग अन्तर्गत डोटीको बुडर बजारबाट जोगबुडा सडक खण्ड हुँदै गोदाम बजारो घुम्तिबाट करिब दुई किलोमिटर उकालो ग्राभेल सडक पार गरेपछि ताल पुगिन्छ । तर रंगुन खोलामा मोटरेबल पुल नहुँदा वर्षातका समयमा आवागमन अवरुद्ध जस्तै हुन्छ । पहुँचको असुविधा पर्यटन विकासको प्रमुख बाधा बनेको देखिन्छ ।
पुल निर्माणका लागि पहल गरे पछि हालसम्म कुनै सुनुवाई हुन नसकेको आलिताल गाउँपालिका अध्यक्ष शेर पार्कीले जानकारी दिए । पुल बनाउन पाकिकासंग यती ठूलो बजेट हुदैन । उनले भने, संघ र प्रदेश सरकारसंग आग्रह गर्दै आए पनि हाल सम्म कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
उनका अनुसार तालितालको सौन्दयीकरका लागि यस वर्ष पनि ७० लाख रकम विनियोजन गरिएको छ । ताल क्षेत्रमा मन्दिर, पार्क र आरसीसी ड्याम निर्माण गर्ने गरि रकम विनियोजन गरिएको उनले जानकारी दिए ।
धार्मिक आस्था बनाम व्यवसायिक प्रयोग
गाउँपालिका अध्यक्ष शेर पार्कीका अनुसार धार्मिक आस्थाकै कारण डुंगा सञ्चालनमा समस्या आउने गरेको छ । धार्मिक संवेदनशीलता र आर्थिक गतिविधिबीच सन्तुलन कायम गर्न नसक्दा सम्भावित पर्यटन आय प्रभावित भएको देखिन्छ । नेपालका अन्य धार्मिक तालहरूमा जस्तै व्यवस्थापन समितिमार्फत नियन्त्रित व्यवसायिक प्रयोग सम्भव भए पनि यहाँ त्यसको अभ्यास हुन सकेको छैन ।
धार्मिक क्षेत्र र परम्परागत रुपमा महिलाले जान नपाउने लगायत अन्य रुढीवादी सोचले ताल लाई व्यवसायीक रुपमा योजना अगाडी बढाउन नसकिएको उनको भनाई छ । गत वर्ष माछा पालनका लागि बोलपत्र आह्वान गरिए पनि निवेदन नै नपरेको उनले बताए ।
संरचना धेरै, सञ्चालन कमजोर
२०७४ सालपछि ताल क्षेत्रमा करौडो रकम सडक, फुटपाथ, टहरा, बस्ने संरचना, भ्यू टावर, घेरबार, पर्खाल, शौचालय, बनभोज घर लगायतका संरचना निर्माण गरिएका छन् । ताल माथिबाट हुने भू क्षयीकरण रोक्न पर्खाल निर्माण गरिएका छन । बिजुलीका पोल गाडिएको तीन वर्ष बितिसक्दा पनि तार तानिएको छैन । तालमा माछाका भुरा हालिएको थियो, पाँच वटा प्याडल डुंगा सञ्चालनमा ल्याइएका थिए । तर अहिले ती डुंगा किनारमै थन्किएका छन् ।
तालमा न माछा मार्न पाइन्छ, न व्यवस्थित व्यवसायिक माछापालनको अनुमति छ । फलतः सम्भावनाको स्रोत निष्क्रिय बनेको छ । यसले एउटा प्रश्न उठाउँछ — पूर्वाधार निर्माणमै विकास सीमित राख्ने कि सञ्चालन र व्यवस्थापनमा ध्यान दिने ?
सम्भावना किन उपयोग हुन सकेन ?
विश्लेषकहरूका अनुसार आलितालको मुख्य समस्या “योजना अभाव” हो । दीर्घकालीन गुरु योजनाको अभाव, पर्यटन, कृषि, मत्स्यपालन र धार्मिक पर्यटनलाई एकीकृत नगर्नु, स्थानीय समुदायको स्वामित्व र सहभागिता कमजोर हुनु, निजी क्षेत्रलाई आकर्षित गर्ने नीति नहुनु, यी कारणले ताल केवल अवलोकनस्थलमा सीमित भएको डडेल्धुरा होटेल व्यवसायी संघका अध्यक्ष दान भण्डारी ले बताउनुभयो ।
युवाको पलायन र अवसरको प्रश्न
तालभन्दा तलका गाउँमा सिँचाइ र खानेपानीको सीमित उपयोगबाहेक उल्लेखनीय आर्थिक गतिविधि देखिँदैन । रोजगारी सिर्जना गर्ने पर्यटन, होटल, होमस्टे, माछापालन, कृषि पर्यटन जस्ता क्षेत्र विकास नहुँदा यहाँका युवाहरू खाडी तथा तेस्रो देशतर्फ पलायन भइरहेका छन् । प्रकृतिले दिएको अवसर व्यवस्थापन अभावले गुमिरहेको छ ।
अबको बाटोः के गर्न सकिन्छ ?
आलिताललाई आर्थिक केन्द्रका रूपमा विकास गर्न निम्न रणनीति आवश्यक देखिन्छ । पर्यटन, धार्मिक आस्था र वातावरणीय संरक्षण समेटेर समग्र गुरुयोजना निर्माण, वर्षायाममा पनि सहज पहुँचका लागि मोटरेबल पुल निर्माण, व्यवस्थित मत्स्यपालन र बोटिङ सञ्चालन, होमस्टे तथा सामुदायिक पर्यटन विकास, स्थानीय सहकारी वा व्यवस्थापन समिति गठन र विद्युतीकरण र डिजिटल प्रचारप्रसार गर्न सकिने उद्योगवाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्धिजराज भट्टले बताउनुभयो ।
निष्कर्ष
आलिताल केवल प्राकृतिक ताल होइन— यो सम्भावनाको प्रतीक हो । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र भौगोलिक अवस्थिति सबै अनुकूल हुँदाहुँदै पनि प्रभावकारी योजना र व्यवस्थापन अभावले यो क्षेत्र ओझेलमा परेको छ । प्रश्न अब पनि उही छ । आलिताल सम्भावनाको कथा मात्रै रहने कि समृद्धिको आधार बन्ने ?

6 पटक हेरिएको 

