कर्णाली प्रदेशको अति कठिन भूबनोट भएको जिल्ला हो, डोल्पा । यही विकटता माथिल्लो डोल्पा पदमार्ग (अपर डोल्पा सर्किट) मा जाने साहसिक पदयात्राप्रेमीको रोजाइमा पर्ने गरेको छ । कम्तीमा तीन साताको समय छुट्याउनुपर्ने यो पदमार्ग खासगरी बाह्य पर्यटकमाझ प्रिय छ ।
जुफालदेखि शुरु हुने पदयात्रा दुनै हुँदै विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती द्यो, नगला र बगला पास, शे फोक्सुण्डो ताल हुँदै पुनः जुफाल पुगेर टुंगिन्छ ।
द्यो बस्तीबाट छार्का हुँदै मुस्ताङ पनि निस्किन सकिन्छ ।
अधिक उँचाइमा बढी हिंड्नुपर्ने र सबै ठाउँमा खाने–बस्ने सुविधा नभएका कारण माथिल्लो डोल्पा पदमार्गलाई साहसिक मानिएको हो ।
पदमार्गमा एकाध ठाउँमा मात्र होटल तथा टी हाउस रहेकाले खानपिन र बासको व्यवस्थापन आफैंले मिलाउनुपर्छ ।
अर्कातिर, यो पदमार्गमा ५००० मिटर माथिका दुई वटा पास नगला र बगला एकैदिन पार गर्नुपर्छ ।
नगला पास समुद्री सतहबाट ५,३५० मिटर र बगला पास ५,२२७ मिटर उँचाइमा पर्छ ।
यो पदमार्गको आकर्षण विशाल फाँटहरू सहितको सुन्दर परिदृश्य र स्थानीयको तिब्बती रहनसहन हो ।
साथै, हजार वर्षभन्दा पुरानो मानिने शे गुम्बा र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो पदयात्राको थकान बिर्साउने ठाउँ हुन् ।
पदमार्गका विभिन्न क्षेत्रमा सामान्यतया जेठ दोस्रो सातादेखि एक महीनासम्म यार्सागुम्बा टिप्नेहरूको घुइँचो लाग्छ ।
आधारभूत सुविधाविहीन कठिन भूबनोटमा ज्यान जोखिममा पर्न सक्ने भएकाले माथिल्लो डोल्पामा पर्यटकलाई एक्लै जान सरकारी तवरबाटै निषेध गरिएको छ ।
दुई जनाले एकसाथ स्वीकृति लिनुपर्ने र ट्राभल एजेन्सी मार्फत जानुपर्ने प्रावधान छ ।
५०० अमेरिकी डलर तिरेर कम्तीमा १० दिनको परमिट लिनुपर्ने र त्यसभन्दा बढी समय लागे दैनिक थप ५० डलर शुल्क लाग्ने डोल्पाका पर्यटन व्यवसायी तथा एक्सपोलर डोल्पा ट्रेकिङका प्रबन्ध निर्देशक जितेन्द्र झाँक्री बताउँछन् ।
MANASLU TV

1771 पटक हेरिएको 

