काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन् । अध्यक्ष प्रचण्डले समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका विश्वव्यापी रूपमै बढ्दै गएको पनि स्पष्ट पारे ।
बुधबार काठमाडौंमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले केही वर्षयता नेपालमा पनि खेलकुद क्षेत्रमा राम्रो सुधार र प्रगति हुँदै आएकोमा सन्तुष्टि पनि व्यक्त गरे । ‘नेपालमा पनि केही वर्षयता खेलकुद क्षेत्रमा निकै राम्रो सुधार र प्रगति हुँदै आएको छ,’ अध्यक्ष प्रचण्डको भनाइ थियो, ‘देशभित्र र देशबाहिर हुने यस्ता खालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट धेरै खुसी भएको छु ।’
अध्यक्ष प्रचण्डले निकट भविष्यमै नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले तीव्रता दिइरहेको उल्लेख गर्दै सफल हुने विश्वास पनि व्यक्त गरे । अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई चिनाउन तथा राष्ट्रहरूबीचको भाइचारा सम्बन्ध वृद्धि गर्न पनि ठूलो रणनीतिक भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराएका थिए ।
MANASLU TV

716 पटक हेरिएको 

