अमेरिकी कमान्डोले आइसिस प्रमुख बग्दादी मारेको आशंका

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  Manaslu Post  573 पटक हेरिएको

उत्तरी सिरियामा स्लामिक स्टेट(आइसिस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको आंशका गरिएको छ।

अमेरिकी पत्रिका न्यूजविकले अमेरिकी सैन्य श्रोतलाई उद्धृत गर्दै बग्दादी मारिएको दाबी गरेको छ। अन्य धेरै समाचार श्रोतले पनि पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने जनाएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले नेपाली समयअनुसार आइतबार साँझ अमेरिकी राष्ट्रपतिले महत्वपूर्ण जानकारी गराउने बताएका छन्। स्वयं राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राती ट्विटमा भनेका छन्, ‘एउटा ठूलो घटना भर्खरै भएको छ।’

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियामा विशेष सैन्य अपरेशन गर्ने अनुमति दिएको सञ्चारमाध्यमले जनाएका छन्। सोही अपरेशनमा बग्दादी मारिएको दाबी गरिएको छ।

गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो। रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए।

भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौं आक्रमण गरेको बताएका छन्। साथै सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका छन्।

उनी सन् २०१४ यता देखिएका थिएनन्। सार्वजनिक भएको भिडिओमा बागुजमा आफूहरू पराजित भएको उनले स्वीकार गरेका थिए।

को हुन् बग्दादी ?

आइसिस प्रमुख बग्दादी संसारकै प्रमुख ‘वान्टेड’ व्यक्तिमा पर्छन्। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्नेगरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समयसम्म आतकंवादी गतिविधि चलाउँदै आएको थियो।

आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४५ जना विदेशी थिए।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकाइदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकाइदाका प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकिबसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। त्यस्तै अमेरिकी सेनाले नेतृत्व गरेको संयुक्त फौजले अफगानिस्तानमा १० वर्ष लामो युद्धमा अलकाइदामाथि ठूलो क्षति पुर्याएकोछ।

सन् १९७१ मा उत्तरी इराकमा जन्मिएका बग्दादीलाई आतंकवादी हमला र लडाइँमा चतुर रणनीतिकार मानिन्छ। उनी सुरूमा सन् २०१० मा इराकमा अलकाइदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतकंवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हाले।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार