पोखरा । विश्वमै होचो व्यक्तिको विश्व कीर्तिमानी कायम गरेका बागलुङका खगेन्द्र थापामगरको २७ वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई बिहीबार मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएकोमा उपचारक्रममा उनको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको खगेन्द्र थापामगर प्रतिष्ठान अध्यक्ष मीनबहादुर रानाले बताए ।
खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हेमोग्लोविनको कमी, ह्वाइट ब्लड सेल बढी हुने लगायत समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
बागलुङ धुल्लुबासकोट–६ उर्लेनीमा बाबु रुपबहादुर थापामगर र आमा धनमाया थापामगरको जेठो सन्तानको रुपमा २०४९ सालमा जन्मिएका खगेन्द्रले २०६७ सालमा विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ दी वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए ।
१८ वर्षको छँदा २०६७ साल असोज २८ मा विश्व रेकर्ड कायम गर्दा उनको उचाइ मात्र ५७ सेन्टिमिटर थियो । उनी हाल पोखरा–८, सिर्जनाचोकमा बाबुआमासँग बस्दै आएका थिए । जन्मिँदा मात्र ६ सय ग्रामका उनी मृत्युअघि ५.५ किलोग्रामका थिए । २०६६ सालमा खगेन्द्र नागरिकता बुझ्ने बेलामा १६ वर्ष ९ महिनाका थिए ।
जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनको नागरिकता नंं १४०१८ हो । खगेन्द्रको विश्व रेकर्ड केही समयमै २२ इञ्चका फिलिपिनी जुन्री वालपिङले खोसेका थिए । खगेन्द्रले २०६५ सालताका पोखरा–८, शिवालयचोकस्थित सरस्वती माविमा यूकेजीमा भर्ना भई अक्षर चिनेका थिए ।
होचो कद र कम तौलका खगेन्द्रलाई केही वर्षसम्म देशका विभिन्न स्थानमा हुने मेला महोत्सवमा प्रदर्शनीको लागि समेत राखिने गरिएको थियो । उनलाई पहिलो पटक देख्नेहरु छक्क पर्थे ।
“छोरा जन्माउँदा अन्य सन्तानजस्तै गरी सामान्य तरिकाले जन्माएकी हुँ”–आमा धनमाया सम्झिन्छिन्,–“तर खगेन्द्र जन्ममै सानो भएकोले उनलाई हत्केलामा राखेर तेल लगाएको सम्झना छ ।” अण्डाकारमा जन्मेका खगेन्द्र जन्मेको ३ दिनसम्म दूधसमेत चुस्न नसकेपछि उनलाई थोपा–थोपा गरी दुध खुवाइएको उनी बताउँछिन् । आर्थिकस्थित कमजोर रहेकोले खगेन्द्रले सानो छँदा राम्रो स्याहार सुसारसमेत पाउन सकेनन् । खगेन्द्रका बाबु आमा ज्यालादारीमा तथा घरको काममा जानुपर्ने भएकोले उनकी हजुरआमा पवित्राले खगेन्द्रको स्याहार सुसार गरिन् ।
गाउँलेहरु समेत उनलाई भगवान्को अवतार रुपमा मान्दथे । बाग्लुङ सदरमुकामदेखि ८ घण्टाको पैदल हिडेर पुगिने धुल्लुवासकोटमा बालापन बिताएका खगेन्द्र माटो, ढु्ङगाका भाँडाकुटी बनाएर खेल्ने, टीका लगाउने, पूजा गर्न मन पराउने, बल खेल्ने गर्ने गरेको उनको परिवारले बताउँछन् । खगेन्द्र साहै्र सानो भएकोले अन्य केटाकेटीले खेलाउनाको रुपमा खेलाउने गरेकोले पनि उनको पठनपाठन अगाडि बढ्न नसकेको बाबु रुपबहादुको गुनासो छ । पछि पोखरामा मीनबहादुर रानाको मनमा खगेन्द्र पस्न सके । पोखरामा उनको पहिलो पटक प्रदर्शनी सहित खगेन्द्र थापामगर प्रतिष्ठान नै गठन गरिएको थियो ।

698 पटक हेरिएको 

