काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै सरकारले गरेको लकडाउनपछि यतिबेला इन्टरनेटको माग बढेको छ । यकिन तथ्यांक नभए पनि अहिले त्यस्तो माग औसत ५० देखि ६० प्रतिशतसम्म बढेका इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । अहिले घरायसी ग्राहकमा निर्भर रहेका सेवा प्रदायकलाई ग्राहकका माग धान्न गाह्रो भइरहेको छ । कर्पोरेट ग्राहक धेरै भएका सेवा प्रदायकहरूको पनि इन्टरनेटको माग बढेको छ तर, उनीहरूलाई केही सहज भने छ ।
लकडाउनपछि वल्र्डलिंक कम्युनिकेसनको मात्रै ३५ प्रतिशत माग बढेको बिक्री प्रबन्धक लक्ष्मण यादव बताउँछन् । घरायसी ग्राहक र कर्पोरेट ग्राहक दुवैको सन्तुलन भएका कारण अहिले वल्र्डलिंकको इन्टरनेट माग वृद्धिदर अरूको भन्दा सामान्य देखिएको हो । यतिबेला कुनै कम्पनीले सामान्य अवस्थाभन्दा दोब्बर बढी इन्टरनेट माग धान्नुपर्ने अवस्था रहेकाले सम्बन्धित सेवा प्रदायकले बोनस प्याकेज ल्याउनुपर्ने माग उठेको छ ।
नेपाल टेलिकम, भुक्तानी सेवा प्रदायक अन्य कम्पनी र विद्युत् प्राधिकरणले समेत ग्राहकलाई छुट दिइरहेको अवस्थामा इन्टरनेटमा समेत ग्राहकले छुट र बोनसको अफर गरिरहका छन् । इन्टरनेटको माग बढे पनि इन्टरनेट सेवा प्रदायकले ग्राहकको अपेक्षाबमोजिम कुनै पनि योजना ल्याएका छैनन् । टेलिकम कम्पनीले जस्तो बोनस प्याकेज ल्याउने सम्बन्धमा वल्र्डलिंक कम्युनिकेसनका बजार प्रबन्धक यादव त्यो तत्काल सम्भव नहुने बताउँछन् । उनका अनुसार इन्टरनेट सेवा प्रदायकले निश्चित शुल्क लिएर अनलिमिटेड सेवा दिने व्यवस्था गरेका हुन्छन् । माग बढ्दै जाँदा पनि सेवा प्रदायकको आम्दानी भने बढ्दैन । ‘हाम्रो दैनिक ३-४ सय ग्राहक थपिन्थे । अहिले त्यो ठप्प छ । भएका ग्राहकबाट जति नै इन्टरनेट प्रयोग गरे पनि धेरै शुल्क लिन मिल्दैन । त्यसैले हाम्रो आम्दानी बढ्दैन । यसका बाबजुद पनि हामीले म्याद अवधि सकिएका ग्राहकका लागि १ सातासम्म सेवा नवीकरण गर्ने व्यवस्था गरेका छौं । नवीकरण गर्ने ग्राहकलाई अनलाइनबाट भुक्तानी गर्न सक्ने व्यवस्था पनि छ ।’
इन्टरनेट माग बढेकै कारण अहिले इन्टरनेट स्लो हुने समस्या आउने गरेको ग्राहकको गुनासो छ । तर, इन्टरनेट सेवा प्रदायकहरू भने बजारको माग हेरेर इन्टरनेटको क्षमता व्यवस्थापन गर्ने भएकाले एकैपटक माग बढेकाले व्यवस्थापन गर्न केही समस्या परेको बताउँछन् । अहिले सबै इन्टरनेट सेवा प्रदायकसँग ७ सय जीबीपीएस क्षमताको इन्टरनेट व्यान्डविथ छ । यसको अर्थ १ सेकेन्डमा ७ सय जीबीसम्म डाटाहरू डाउनलोड गर्न सक्ने क्षमता हाम्रा सेवा प्रदायकसँग छ । सामान्य अवस्थामा २० प्रतिशतसम्म अतिरिक्त क्षमता व्यवस्थापन गर्दै आएका सेवा प्रदायक माग बढेपछि अहिले समस्यामा छन् । इन्टरनेट व्यवस्थापनमा समस्या हुने भएपछि इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेटलाई सूचना प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गर्न र अनावश्यक रूपमा गेम नखेल्न आग्रहसमेत गरिसकेको छ ।

688 पटक हेरिएको 

