कोरोना भाइरसबारे सञ्चारमाध्यममार्फत निरन्तर जानकारी गराइरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ ।
कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएको हो ।
डाक्टर पुनले पनि आफूलाई स्पष्टीकरण माग गरेर पत्र पठाइएको सुनेको तर पाइनसकेकाे बताएका छन् ।
शनिबार दिउँसो डाक्टर पुनले भने, ‘मन्त्रालयबाट आएको होला तर मैले पाएको छैन ।’
उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी ‘टेक्निकल’ (प्राविधिक) कुरा मात्र मिडियामा गरेको बताए ।
‘मन्त्रालयले गर्नुपर्ने काम मैले गरिदिएको छु, कोरोना भाइरसका बारेमा स्पष्ट पार्ने काम मात्र गर्दा किन स्पष्टीकरण सोधियो, मैले बुझेको छैन,’ डा. पुनले भने ।
पछिल्लो दिन र्यापिड डाइग्नस्टिक टेस्ट र पीसीआर टेस्टका विषयमा मात्र आफूले बोलेको उनको भनाइ छ ।
‘मलाई के-के आरोप लगाइयो, पत्र प्राप्त भइनसकेकाले भन्न सक्तिनँ, तर यस्तो बेला किन यसरी प्रतिशोध साँधियो मैले बुझेको छैन,’ उनले भने ।
आफू सुरुवाती चरणदेखि नै दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेकाे डा. पुन बताउँछन् ।
‘कोरोनाबाट मानिस आत्तिने खतरा देखेर जनचेतना जगाउनु कसरी गलत भयो होला ?’ उनको प्रश्न छ ।

1430 पटक हेरिएको 

