
काठमाडौं, ३ जेठ । नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले चुनावको परिणामले आफ्ना मुद्दा थप बलियो भएको दावी गरेका छन् ।
राजधानीमा बुधवार आयोजित कार्यक्रममा भट्टराईले परिणाम कसको पक्षमा गयो भन्नु भन्दा पनि आफ्ना मुद्दा स्थापित भएको बताए । आफ्नो पार्टीको पक्षमा परिणाम नआए पनि जनताका अधिकार गाँउसम्म पुगेको भन्दै जनता अधिकार सम्पन्न भएकोमा आफु खुशी रहेको भट्टराईको भनाई थियो । संयोजक भट्टाराईले भने, ‘निर्वाचनको परिणामबाट सन्तुष्टि रहनुहुन्न, हिड्न सिक्दा जो पनि लड्छ ।’
चुनावमा राम्रो मतपरिणाम नआएपनि आफ्नो एजेन्डाहरु स्थानिय तहसम्म स्थापित भएकोमा आफुमा निराशाको सट्टा थप उत्साह बढेको उनले बताए । उनले भने ‘राजनीतिक रुपमा हाम्रो विजय भइसकेको छ,यो सिट कति जित्यो भन्ने कुरा होइन् । हाम्रो मुद्दा स्थापित भइसकेको छ देशले वैकल्पिक शक्ति आवश्यक छ भन्ने देखाएको छ यही ठूलो कुरा हो ।’
उनले यो पटकको स्थानिय तह चुनावमा पुराना पार्टीहरुले धेरै नै आर्थिक र राजनीतिक शक्ति प्रयोग गरेको बताए । ‘काँग्रेस र एमालेले त चुनावमा पहिलेदेखी नै पैसाको खोलो बगाएकै हो तर आफूलाई एकदमै गणतान्त्रिक भन्ने माओवादीले पनि यस पटक काँग्रेस र एमालेलाई उछिनेको छ ।’ उनले भने ।

2004 पटक हेरिएको 

