गुड्ने र उड्ने गाडी ‘एयरकार’ को पहिलो उडान पूरा

  Manaslu Post  1044 पटक हेरिएको

‘एयरकार’ले हालै दुई शहरमाथि आफ्नो पहिलो उडान पूरा गरेको छ। एयरकार हाइब्रिड गाडी हो, जुन अरु कार जस्तै सडकमा गुड्न सक्छ र आकासमा उड्छ। एयरकारले स्लोभाकियाको आकासमा पहिलो अन्तर–शहर उडान पुरा गरेको अमेरिकी वेभसाइट रोब रिपोर्टले लेखेको छ।
एयरकारको डिजाइन क्लाइन भिजनका प्रोफेसर स्टिफन क्लाइनले गरेका हुन्। स्लोभाकियाली संगठनले उक्त कार बनाउन ३० वर्षभन्दा बढी समय खर्चेको छ। सो समयमा असंख्य प्रोटोटाइपहरू निर्माण गरेको छ।

हालै उडान पूरा गरेको यो विशेष एयरकार, प्रोटोटाइप १ हो। यो स्पोर्ट कारलाई जम्मा २ मिनेट १५ सेकेन्डमा एक विमानमा रुपान्तरण गर्न सक्छ। यसमा पेट्रोलबाट चल्ने १ सय ६० एचपी बिएमडब्ल्यू इन्जिन जडान गरिएको छ।

दुई सिटरको यो एयरकारले सोमबार नाइट्रा र ब्राटिस्लावा एयरपोर्टको बीचको उडान भरेको हो। जुन ३५ मिनेटको दुरीमा पर्छ।

आकासबाट जमिनमा सुरक्षित ढंगले अवतरण गरेपछि प्राध्यापकले एयरकार भित्र भएको एउटा बटन थिचे। जसले उड्नमा मद्दत गर्ने पखेटालाई भित्र राख्यो। र उनले एयरकारलाई कार बनाएर चलाए।

प्रोटोटाइप १ले यस अघि नै ४० घण्टाभन्दा बढी समयको परीक्षण उडान भरेको थियो। प्रोफेसर क्लेनका अनुसार यो ८ हजार २ सय फिट उचाईसम्ममा उडेको छ। यसको अधिकतम क्रुजिङ गति ११८ माइल प्रति घण्टासम्म पुगेको छ।

‘यो उडानसँगै दोहोरो यातायात सवारीको नयाँ युग सुरू भएको छ, ‘क्लाइनले एक विज्ञप्तिमा भनेका छन्, ‘यसले यातायातको एक नयाँ श्रेणी थपेको छ।’

प्रोफेसर केल्भिनसँग पाइपलाइनमा अरू उड्ने कारहरू पनि छन्। उनीहरू हाल नयाँ पूर्व-उत्पादन मोडेलमा काम गरिरहेका छन् जसलाई एयरकार प्रोटोटाइप २ भनिएको छ। यसमा ३०० एचपीको इन्जिन र भेरियबल पिच प्रोपेलर जडान गरिएको हुनेछ। जसले १८६ माइल प्रति घण्टाको स्पीड दिने आशा गरिएको छ।

कम्पनीका अनुसार यो मोडलले युरोपियन उड्डयन नियामकहरूबाट सीएस-२३ विमानको प्रमाणपत्र पनि सामान्य, उपयोगिता, एरोबेटिक र यात्रुवाहक हवाईजहाजको रूपमा पाउनेछ। यसले एम१ रोड पर्मिट पाउनेमा कम्पनी सकारात्मक छ।

रोब रिपोर्टका अुनसार प्रोफेसर केल्भिन तीन र चार सिटर एयरकारको निर्माणमा पनि सक्रिय छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार