कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले गोली चलाएपछि नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपाल घोर भत्र्सना गर्दछ । साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छ । हामी नेपाल सरकारसँग यो घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दछौं ।
यो घटना नेपाल–भारत सीमा क्षेत्रमा विद्यमान विवादकै परिणामस्वरुप भएको घटना हो । नेपाल–भारत सीमा क्षेत्रमा यस्ता धेरै विवादका विषयहरु विद्यमान छन् जसको स्थायी समाधानका लागि सरकारले ठोस पहल गरेको छैन । जसका कारण यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन् । सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका निर्माणका विषयमा होस् या सीमा विवादका विषयहरु सरकारले तत्काल कुटनीतिक पहल गरी समाधान गर्नुपर्दछ । नयाँ शक्ति पार्टी, नेपाल सरकारसँग भारतसँगको सीमा विवाद र नेपाल–भारत सीमा क्षेत्रका निर्माणका कामहरु लगायतका विषयलाई राष्ट्रहितको ख्याल गर्दै अन्तर्राष्ट्रिय कानुनका आधारमा कुटनीतिक पहलद्वारा समाधान गर्न माग गर्दछ ।
–––––––––––––––––––
खिमलाल देवकोटा
प्रवक्ता
नयाँ शक्ति पार्टी, नेपाल

735 पटक हेरिएको 

