मंकीपक्सको जोखिम नेपालमा कति ?

  Manaslu Post  281 पटक हेरिएको

विश्वभरि फैलिरहेको मंकीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ। नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा परेको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार यहाँ आयोजना गरेको मङ्कीपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्ल्यूएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए।
तर भाइरसबाट हुने एक किसिमको सरुवा रोग मङ्कीपक्स हालसम्म नेपालमा देखिएको छैन।

भारतमा मङ्कीपक्सका बिरामी भेटिनु र खुला सीमा भएकाले सङ्क्रमितले सजिलै नेपाल प्रवेश पाउने भएकोले पनि उच्च जोखिम रहेको हो। भारतमा अहिलेसम्म नौ जना मङ्कीपक्सका सङ्क्रमित फेला परिसकेका छन्।

यस्तै अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको डब्ल्यूएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाले जानकारी दिए।

‘यी ठाउँबाट नेपालमा सजिलै पर्यटकको आउजाउ धेरै भएको पाइन्छ’, उनले भने, ‘त्यसैले नेपाल पनि मङ्कीपक्सको जोखिममा छ।’

असी देशका करिब २४ हजार मानिसमा मङ्कीपक्सको सङ्क्रमण फैलिएको डब्ल्यूएचओले जनाएको छ। डा इदिरीसुरियाले मङ्कीपक्स रोगको जोखिमबारे समुदायमा जनकारी सरकारले गराउनु आवश्यक रहेको बताए।

रोग सार्नेमध्ये ९७ दशमलव ५ प्रतिशत सङ्क्रमण पुरुष–पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्ल्यूएचओले जनाएको छ। तीमध्ये ३८ प्रतिशतमा एचआईभी पोजिटिभ पाइएको छ।

डब्ल्यूएचओका नेपालस्थित महामारी विज्ञ डा इदिरीसुरियाले यस रोगको सङ्क्रमण एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकाले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने बताए।

डब्ल्यूएचओ नेपालका स्वास्थ्य आपत्काल कार्यक्रम प्रमुख डा एलिसन गोकोटानोले भारतमा मङ्कीपक्सको बिरामी देखिएकाले खुला सिमानाका कारण नेपालमा सजिलै मङ्कीपक्सको सङ्क्रमण देखिने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले छिमेकी मुलुकमा देखिएसँगै नेपाल पनि मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए।

उनले अहिलेसम्म शङ्कास्पद चार नमुना परीक्षणमा मङ्कीपक्स रोग नदेखिएको जानकारी दिए।

‘अहिलेसम्म नेपालमा एउटा पनि सङ्क्रमण देखिएको छैन। तर छिमेकी मुलुक भारत र नेपालमा सजिलै आउजाउ हुने देशमा देखिएकोले ढुक्क हुने अवस्था छैन’, उनले भने।

डब्ल्यूएचओले मङ्कीपक्स सङ्क्रमणको परीक्षण गर्न २५० किट उपलब्ध गराएको छ। अहिले सोही किटमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मङ्कीपक्सको परीक्षण हुने गर्छ।

डब्ल्यूएचओका जनस्वास्थ्य विज्ञ डा शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताए। उनले छाला र मुखमा रहेको दाग, बिमिरा फुट्दा र नजिक रहेको व्यक्तिमा मङ्कीपक्स रोग सर्ने जानकारी दिए।

घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ  जस्तै थुक, र्‍याललको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्छ।

काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनलीजस्ता अङ्गबाट पनि यो भाइरस सर्छ।

सरकारको तयारी 
मङ्कीपक्सको जोखिम कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ।

महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा गेलालले मङ्कीपक्स पत्ता लगाउन अध्ययन/अनुसन्धान गर्न देशभर १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी काम गरिरहेको बताए। यस्तै मङ्कीपक्सका शङ्कास्पद बिरामीको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको छ।

महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको छ। उनले ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मङ्कीपक्स–२०७९’ तयारी गर्न थालेको जानकारी दिए।

यस्तै उनले स्वास्थ्य सेवा विभागका सबै महाशाखालाई मङ्कीपक्सको प्रतिकार्यका लागि आगामी कार्ययोजनासमेत बनाउने निर्देशन दिइसकेको जानकारी दिए।

महाशाखाले मङ्कीपक्सको उच्च जोखिममा रहेका समुदायसँग पनि रोकथाम र नियन्त्रणबारे छलफल गरेको उनको भनाइ छ। सातवटै प्रदेशका प्रदेश निर्देशनालयलाई मङ्कीपक्सको रोकथाम र नियन्त्रण गर्न निर्देशन दिइएको छ।

ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु यस रोगका लक्षण हुन्।

मङ्कीपक्स रोगका सम्भावित जटिलता आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जानुजस्ता छन्।

बच्ने उपाय 
मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्छ।

यस्तै मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पीसीआर परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार