साफ महिला फुटबल : नेपालसँग ११-० गोलले माल्दिभ्स पराजित‚ रेखा र प्रीतिको ह्याट्रिक

  Manaslu Post  295 पटक हेरिएको

काठमाडौँ : काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको छ।

आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

जितसँगै २ खेलबाट ४ अंक जोड्दै नेपाल समूह ‘बी’ को शीर्षमा उक्लिएको छ। आफ्ना दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १-० ले पराजित भएको थियो।

आज (सोमवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई शानदार जित दिलाउने क्रममा रेखा पौडेलले ५ गोल गरिन् भने प्रीति राईले ३ तथा सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले १/१ गोल गरे। रेखा प्लेयर अफ द म्याच भइन्।

माल्दिभ्समाथि पूर्णतया हावी भएको खेलको छैटौँ मिनेटदेखि नै गोल गर्न थालेको नेपालले खेलको नसकिउन्जेलसम्म गोलको वर्षा गरिरह्यो।

पहिलो हाफ सकिँदा नेपाल ४-० गोलले अगाडि थियो। रेखाले खेलको ५८औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ५-० मा पुर्‍याएकी थिइन्।

अब समूह चरणको अन्तिम खेलमा बिहीवार नेपालले श्रीलंकासँग र माल्दिभ्सले भुटानसँग खेल्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार