काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले नै साफ महिला फुटबल च्याम्पियनशिपको फाइनल खेलको टिकट बिक्री गर्ने भएको छ।
एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि र एन्फाबीच भएको सम्झौता रद्द गर्दै टिकट आफैँले बेच्ने जनाएको हो।
एन्फाले टिकट बुधवार विहान ८ बजेदेखि बिक्री गर्ने भएको छ। नेपाल-बंगलादेशबीच हुने फाइनल खेल भोलि (बुधवार) बेलुका साढे ६ बजे शुरु हुनेछ।
माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग टेन्डरमार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनशिपको सम्पूर्ण टिकेटिङ अधिकार लिएको थियो।
तर आइतवार सेमिफाइनलमा करिब १५ हजार ४ सय दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो।
लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एभरेस्टलाई फाइनल खेलको टिकट बिक्री गर्न रोकेको थियो।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार माउन्ट एभरेस्टले फाइनलका लागि भिआईपी प्यारापिटतर्फ क्षमताभन्दा बढी टिकट बिक्री गरिसकेको छ। सामान्यतर्फ पनि ४१ सय टिकेट बिक्री गरेको जानकारी उनले दिए।

263 पटक हेरिएको 
