शेख हसिनाविरुद्ध फाँसीको फैसला : बंगलादेशले फिर्ता पठाउन भनेपछि भारतको यस्तो जवाफ

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  41 पटक हेरिएको

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध सोमबार मृत्युदण्डको सजाय सुनाएको छ। दुवै जना हाल भारतमा छन्।

फैसलापछि बंगलादेशले भारतसँग उनीहरूलाई फिर्ता पठाइदिन (सुपुर्दगी) माग गरेको छ।

जवाफमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी ‘बंगलादेश न्यायाधिकरणले शेख हसिनाका सम्बन्धमा गरेको फैसला थाहा भएको’ बताएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निकट छिमेकीका रूपमा भारत बंगलादेशका जनताको हितप्रति प्रतिबद्ध छ।जसमा त्यहाँ शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरता पर्छन्। भारत सधैँ सबै सरोकारवालासँग रचनात्मक रूपमा संलग्न हुनेछ।’

यसअघि बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहर्‍याएको छ।’

विज्ञप्तिमा मानवताविरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गरेको हठर्ने उल्लेख गरिएको छ।

बंगलादेशको विदेश मन्त्रालयले अगाडि जोड दिँदै भनेको छ, ‘हामी भारत सरकारसँग दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौँ। यो दुई देशहरू बीचको सुपुर्दगी सन्धिअन्तर्गत भारतको दायित्व हो।’

बंगलादेशले आधिकारिक रूपमा शेख हसिना फिर्ताका लागि अनुरोध गर्ने धेरै पत्र पठाइसकेको छ। तर भारतले अहिलेसम्म यसको कुनै जवाफ दिएको छैन।

पत्रकारहरूको प्रश्नहरूको जवाफ दिँदै बंगलादेशका विदेश मामिला सल्लाहकारले भने, ‘बंगलादेशले उनलाई फिर्ताका लागि अनुरोध गर्ने बारम्बार पत्र पठाएको छ, तर भारतबाट कुनै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छैन।’

बंगलादेशमा सन् २०२४ अगस्ट ५ का दिन विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिना १५ वर्षे लामो शासन सत्ता त्याग्दै हेलिकप्टर चढेर देशबाटै भागेकी थिइन्। त्यसयता उनी भारको शरणमा छिन्।

त्यसबेला विद्यार्थी आन्दोलनमा हसिना नेतृत्वको तत्कालीन सरकारले बल प्रयोग गर्दा झन्डै १ हजार ४ सय जना मारिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार