
काठमाडौँ, फागुन २१ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदका लागि मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालय पु¥याइने र राजनीतिक सहमति भएलगत्तै गणना कार्य सुरु हुने आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ ले कुनै निर्वाचन क्षेत्रको निर्वाचनका लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्ने व्यवस्था गरेको छ । मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निर्वाचन प्रतिनिधि उपस्थित रहने छन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने दाबी गर्नुभएको छ । आयोगले प्रत्येक निर्वाचनमा यस प्रकारको दाबी गर्दै आए पनि बढी मतदाता रहेको निर्वाचन क्षेत्रको गणना सम्पन्न हुन दुई दिनभन्दा बढी समय लाग्दै आएको छ । थोरै मतदाता रहेको क्षेत्रको गणना भने मतदान भएकै दिन सम्पन्न हुने गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको र सबै मतदान स्थलको मतपेटिका मतदान सम्पन्न भएलगत्तै सङ्कलन हुने मनाङलगायतका निर्वाचन क्षेत्रको मध्यरातिसम्म परिणाम आउने गरेको छ । मनाङमा सात हजार र मुस्ताङमा ११ हजार ३२८ मतदाता रहेकाले मतदानलगत्तै मतपेटिका सङ्कलन भए मध्यरातिसम्म परिणाम आउन सक्ने छ ।
मतगणना प्रक्रिया
प्रतिनिधि सभा सदस्य (मतगणना) निर्देशिका, २०८२ अनुसार निर्वाचन प्रतिनिधिको सहीछाप गराई निर्वाचन अधिकृतले मतगणना प्रारम्भ भएको मुचुल्का गर्ने छ । मुचुल्का अन्तर्गत प्रत्येक मतदान केन्द्रको मतपेटिका खोलिएको वा फेरिएको छ/छैन, मतपेटिकामा मतदान केन्द्रको नाम, सुरक्षणशील नम्बर र मतपेटिकाको सङ्ख्या उल्लेख गरिएको छ/छैन, मतपेटिका बन्द गरेको ठाउँमा लगाएको सुरक्षणशील दुरुस्त छ वा छैन जाँच गरेर मतपेटिकामा रहेका सबै मतपत्र मतगणना गर्ने टेबुल वा स्थानमा खन्याएर ५० वा एक मतपत्रको ठेली बनाएर गणना कार्य प्रारम्भ हुने छ ।
मुचुल्का गर्ने क्रममा कुनै मतपेटिकामा कैफियत देखिए बेहोरा खुलाई त्यस्ता मतपेटिका सुरक्षित स्थानमा राख्नुपर्ने र कैफियत नदेखिएको मतपेटिकाको मतगणना कार्य समाप्त भएपछि कैफियत देखिएका मतपेटिकाका सम्बन्धमा सहमति कायम गरी गणना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । प्रतिनिधि सभा सदस्य जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२ अनुसार एउटा क्षेत्रको मतगणना कार्यका लागि छ जना कर्मचारी परिचालन हुने छन् । निर्देशिकाले प्रमुख मतगणना अधिकारी, सहायक मतगणना अधिकारी र कम्प्युटर अपरेटर एक/एक जना, मतगणना सहायक दुई गरी कुल छ जना परिचालन हुने छन् । मतगणना टोलीले प्रतिसिफ्ट प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा एक हजार पाँच सय थान मतपत्र र प्रतिनिधि सभा सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिसिफ्ट कम्तीमा तीन हजार थान मतपत्र गणना गर्नुपर्ने छ ।
बदर मतसम्बन्धी व्यवस्था
मतगणना निर्देशिकाले कस्तो अवस्थामा कुन मतपत्र बदर हुने स्पष्ट उल्लेख गरेको छ । बदर वा सदर मतलाई लिएर मतगणनाको क्रममा सधैँ विवाद हुँदै आएका छन् । निर्देशिका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप लगाई वा आयोगले निर्धारण गरेको स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरेको मतपत्र बदर हुने छ । त्यसै गरी मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएका मतपत्र बदर हुने छन् ।

6 पटक हेरिएको 
