
पश्चिम नवलपरासी । नारायणी नदीमा बाढीको बहाव घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका बासिन्दाहरू पुनः आफ्नो गाउँ फर्किन थालेका छन्। नारायणी नदीमा पानीको सतह उच्च भएपछि बाढी गाउँमा पस्ने डरले सुरक्षित स्थानतर्फ सुस्तावारी सरेका थिए ।
बुधबार नारायणी नदीमा पानीको बहाव उच्च बनेपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र गाउँपालिकाले सुस्ताका नागरिकलाई उद्धार गरी सुस्तावारी ल्याएको थियो। विस्थापितहरूलाई स्थानीय पालिकाले सुस्तावारीका विद्यालयहरू तथा सुरक्षित भवनमा राखेर खानेबस्ने व्यवस्थापन गरेको थियो भने केही नागरिक आफन्तको घरमा शरण लिएर बसेका थिए।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार नदीमा पानीको सतह क्रमशः घट्दै गएपछि र गाउँ सुरक्षित रहेको खबर पाएपछि विद्यालय तथा आफन्तका घरमा बसेका नागरिकहरू झोलुङ्गे पुल हुँदै पुनः सुस्ता फर्किन थालेका हुन्।
वर्षेनी नारायणी नदीको कटान, डुबान र बाढीको त्रास झेल्दै आएका सुस्तावासी स्थिति सामान्य बनेसँगै राहतको सास फेर्दै आफ्नो दैनिक दिनचर्यामा फर्किन थालेका छन्। यद्यपि, वर्षाको मौसम अझै बाँकी रहेकाले सुरक्षा निकाय तथा स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

10 पटक हेरिएको 

