डोटी, चैत ३ । ‘मेरै उमेरका धेरैको बिहे भएको छ, हामीले पनि ज्ञान नभएका कारण बिवाह गर्न दियौं, तर अहिले बालबिवाह गरेपछि के के समस्या हुँदो रहेछ भन्ने जानकारी पायौं । अब बालबिवाह हुन दिन्नौं ।’
डोटी दिपायल सिलगढी नगरपालिका–३ का १५ वर्षीय कर्ण साउँद बुधवार नगरपालिकाको कार्यालयमा भेटिए । उनी नगरपालिकाले आयोजना गरेको ‘धामी झाक्री, पुजारी र ज्योतिषहरुका लागि बालबिवाह सम्वन्धी अभिमुखीकरण कार्यक्रम’ मा सहभागी हुन आएका थिए ।
स्थानीय तेडी देउताका धामी साउँद अव गाउँमा कसैको पनि बालबिवाह हुन नदिने वताउँछन । ‘कानुनी रुपमा बालबिवाह अपराध हो भन्ने कुरा पनि हामीले जानकारी पाएका थिएनौं’ साउँदले भने ‘बालबिवाहबाट पर्ने असरका बारेमा त झन थाहै थिएन ।’ अव बालबिवाह नगर्न सवैलाई सचेत गर्ने साउँद वताउँछन ।
दिसिनपा ८ का नवराज बिक बालबिवाहका कारण धेरैले दुःख पाएको कुरा जानकारी पाएको वताउँछन । लाटा कलारमाण्डौंका धामी उनी भन्छन् ‘अव गाउँमा मलाई कसैले बिहेको बारेमा सोध्यो भने सवै भन्दा पहिले केटा र केटीको उमेर सोध्छु, अनि मात्र सल्लाह दिन्छु ।’ आफु बालबिवाह रोक्नमा सक्रिय हुने बिकले प्रतिवद्धता जनाए ।
केटा र केटीको उमेर २० वर्ष नपुगेको भए आफूले बिहे नजुराउने ज्योतिष रामचन्द्र भट्टले बताएका छन् । उनले भने, ‘अव मेरोमा ज्योतिषी हेराउन आउँने सवैलाई २० बर्ष नपुगी केटा र केटीको बिहे गराउनु हुन्न भनेर सल्लाह दिन्छु ।’
युनिसेफको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रका ४० जना धामी झाँक्री, ज्योतिष र पुजारीहरुको सहभागिता थियो ।
‘धामी–झाँक्री र ज्योतिषीहरुलाई गाउँ टोलमा सवैले सम्मान गर्ने भएका कारण उनीहरुको कुरा सबैले मान्छन’ नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यले भने ‘त्यसैले उनीहरुलाई यसबारेमा जानकारी गराएका छौं ।’ सुदूरपश्चिममा बर्षेनी ठूलो संख्यामा बालबिवाह हुने गरेको छ ।

1171 पटक हेरिएको 

