चितवन । दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा किसानले उत्पादन गरेको दूधको मूल्य घट्टै गएपछि किसानहरुले सडकमै दूध पोखेर बिरोध जनाएका छन् ।
किसानहरुले उत्पादन गरेको दूध संकलन गर्ने कम्पनीले दूधको मूल्य घटाएकाले चितवनका पशुपालक किसानहरु असन्तुष्ट बन्दै दूध पोखेर बिरोध गरेका हुन् ।
नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले असार १५ गतेदेखि किसानलाई दिने दूधको मुल्यमा प्रति लिटर तीन रुपैयाँ घटाएका छन् । यसअघि जेठ १६ गते निजी डेरी उद्योगहरुले प्रति लिटर दुई रुपैयाँ ३७ पैसा मुल्य घटाएका थिए । डीडीसीले मूल्य घटाएकोलाई आधार बनाउँदै हाल निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएपछि किसानहरु आन्दोलित बनेका हुन् ।
किसानहरुले दूध उत्पादन गर्दा प्रतिलिटर करिब ५५ रुपैयाँ लागत पर्ने भएपनि उनीहरुले ४५ रुपैयाँमा दूध बिक्री गर्दै आइरहेका छन् । गाई भैँसीलाई खुवाउने दाना, चोकर, औषधि लगायतको मूल्य सरकारले नियन्त्रण गर्न नसकेको तर किसानले उत्पादन गरेको दूधको मूल्य भने पटक पटक घट्ने अवस्था आएको भन्दै किसानहरु असन्तुष्ट बनेका छन् ।
दूधको मूल्य वृद्धि नगरिए जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने किसानहरुको भनाइ छ ।
विदेशबाट आयातित कम गुणस्तरको पाउडर दूधको कारणले यहाँ उत्पादित दूधको मूल्य घटेकाले कुनै पनि बाहानामा ताजा दूधको मूल्य घटाउन नहुने किसानहरुको भनाइ छ ।
दूधको मुल्य घटाउँदै मिल्क होलिडेको स्थिति ल्याउने प्रयास भइरहेको भन्दै किसानहरु चिन्तित बनेका छन् । चितवनमा दैनिक करिब चार लाख ७० हजार लिटर दूध उत्पादन हुँदै आएकोमा करिब दुई लाख ५० हजार लिटर दूध अन्य शहरमा जाने गरेको छ ।

1311 पटक हेरिएको 
