काठमाडौं- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले पहिले प्रदेश नं २ को नामाकरण हुनुपर्ने बताएका छन् । उनले प्रदेश नं २ को नाम राखेपछि मात्रै प्रदेश नं १ को नाम राख्नुपर्ने बताए ।
२४ औं विश्व आदिवासी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् । उनले प्रदेश नं २ ले नाम राख्ने सुरसार नै नगरेको तर प्रदेश नं ४ को नाम किन हतारमा गण्डकी प्रदेश राखेको ? किन प्रदेश नं १ को नाम राख्न हतार गरेको ? भन्दै प्रश्न समेत गरे ।
‘पहाडको मगरात, तमुवान, नेवा, ताम्सालिङ, किरात, लिम्बुवान सबैको नाम राखिसकोस् अनि मात्रै हाम्रो नाम राख्छौ भन्नुभएको हो ?, माथि पहाडको सबै घाँटी ताछिसकियोस् अनि मधेस वा मिथिला मधेसमा सहमति गर्न खोजिएको हो ? मञ्चमा रहेका राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोलाई प्रश्न गर्दै लिङदेनले भने, ‘कि मधेस र बाहुन नेताहरुसँग सहमति भएको छ ? यो त शंकाको कुरा भयो ।’
उनले आफूहरुले मागेको पहिचानको नाम नभए प्रदेशको नाम १, २, ३, ४ जस्ताको जस्तै हुनुपर्ने तर्क गरे । उनले भने, ‘यदि हामीले चाहेको नाम हुँदैन भने अरु कुनै पनि हुँदैन । १, २, ३, ४ जे छ त्यही रहोस् ।’
सो क्रममा नेता लिङदेनले जेलमा रहेका थारु नेताहरुलाई अबिलम्ब रिहाइ गर्न माग गरे । उनले काठमाडौंको डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई तत्काल जेल बाहिर निकालेर प्रतिनिधिसभा सदस्यको सपथ खुवाउने व्यवस्था गर्न माग गरे ।
यसैगरी सडक विस्तारको नाममा काठमाडौं उपत्यकाका नेवारी सभ्यता नष्ट गरिएको, खानेपानी ट्यांकी निर्माणको नाममा धरानको विजयपुर दरबार अतिक्रमण गरिएको भन्दै सो कार्य तत्काल बन्द गर्न आग्रह गरे ।
उनले प्रदेश नं १ ले आज सार्वजनिक विदा दिएको भए पनि सो क्षेत्रका सिडियोहरुले अस्वीकार गरेको घटना गम्भीर रहेको बताए । उनले अब यस घटनाले प्रान्त र केन्द्रबीच युद्ध हुने र दुवै पक्षसँग हतियार हुने दाबी गरे ।

1494 पटक हेरिएको 

