फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा सोमबार बिहान बबरमहलस्थित निवासमा मृत भेटिएका थिए । शवको प्रकृति र घरमा भेटिएका प्रमाणका आधारमा झाको हत्या भएको प्रहरीले दाबी गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले झाको हत्या नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
‘हाम्रो अनुसन्धानले अहिलेसम्म हत्या नै भएको देखाउँछ, थप अनुसन्धान भइरहेको छ,’ सिंहले राजधानीसँग भने, ‘हत्याराको पहिचान चाँडोभन्दा चाँडो गर्नका लागि अनुसन्धानका सबै पाटामा हामी लागिपरेका छौं ।’
प्रहरीले तीन जना शंकास्पद व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । झाको घाँटी र टाउकोमा सातपटक चक्कु प्रहार गरिएको छ । अनुसन्धानका लागि महाशाखाले झा निवासमा कार्यरत कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको छ ।
महनगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले पनि झाको हत्या नै भएको बताए । घटनास्थल पुगेका उनले भने, ‘त्यो हत्या नै हो, बाँकी अनुसन्धान हुँदै छ ।’
प्रहरीले झाको हत्या राति १२ देखि ६ बजेबीचमा हुन सक्ने अनुमान गरेको छ । बिहान ५ बजे नै उठ्ने झा ६ बजेसम्म नउठेपछि घरका सदस्यले उनको कोठामा हेर्दा रगताम्य अवस्थामा शव फेला पारेका थिए । घरकै चक्कु प्रयोग गरी झाको हत्या गरिएको प्रहरीको प्रारम्भिक दाबी छ ।
प्रहरीका अनुसन्धान अधिकारीले घरको चारैदिशामा कसैको प्रवेश भएको संकेत फेला पारेका छैनन् । उनीसँगै रहेका पाल्तु कुकुर पनि कसैसँग भिडेको संकेत नदेखिएका कारण हत्यामा परिचितको संलग्नता हुन सक्ने देखिन्छ ।
आइतबार बेलुकाको खाना खाएर सुतेका उनको मृत्यु भएको बिहान मात्रै परिवारले थाहा पाएका थिए । झा पत्नी र सहयोगीसहित बस्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका तामाङ सात वर्षदेखि झा निवासमा कार्यरत छन् । अन्य दुई जना माली भने सातामा दुई वा तीन दिन सरसफाइका लागि आउने गरेका थिए । तामाङ भने पालेको काम पनि गर्थे ।
मृतक झाका छोरा–बुहारी आयरल्यान्डमा बस्छन् । केही दिन घरमा बिताएर शनिबार मात्र उनीहरू आयरल्यान्ड गएका थिए । मृतक झाकी छोरी पनि नेपालबाहिरै छिन् । झाका श्रीमती एक छोरा र एक छोरी छन् ।
प्रहरीले घटनास्थलमा अनुसन्धानका लागि दुई कुकुरसमेत लगेको थियो । नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष बिताएका झा परराष्ट्र मामिलाका जानकार मानिन्छन् । सेवाका क्रममा शिष्टाचार महापाल तथा राजदूतको जिम्मेवारी पूरा गरेका उनी २०४९ सालमा फ्रान्सका लागि नेपाली राजदूत भएका थिए । झा विश्व सम्बन्ध परिषद्का पूर्वअध्यक्षसमेत थिए ।
प्रहरीले झा सुतेको दोस्रो तलाको एउटा कोठाको झ्यालको जाली काटिएका कारणले पनि हत्या भएको हुन सक्ने दाबी गरेको हो । घटनास्थलमा चक्कुसमेत फेला पारेको प्रहरीले बतायो । प्रहरीका अनुसार झा सुतेको कोठा बाहिरबाट बन्द थियो । झाको घरको फोन डिटेल र घरमा आवतजावत भइरहने सम्बन्धका व्यक्तिहरूबारे पनि प्रहरीले निगरानी बढाएको बताएको छ ।

1110 पटक हेरिएको 

