स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मानिन्छ ।
पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। सदरमुकाम खलंगा बजारबाट करिब २६ किलोमिटर टाढा पश्चिम उत्तर करिब ६९६० फिटको उचाइमा रहेको यो एक पहाडी लेक हो । यहाँ जानलाई दाङ घोराहीबाट हाेलेरी, मसिना,सुरपाल हुदै जान सकिन्छ ।
पूर्व पश्चिम राजमार्गको भालुवाङबाट मोटरबाटो प्युठान हुँदै जाने मार्ग पनि भ्रिङ्गीसम्म छ । मोटर छोडेपछि एकदिनको पैदल बाटो हिँडेर माथि लेकमा पुगिन्छ । पैदल जाँदा बिहानै हिँड्नुपर्छ । बीच बाटोमा उपयुक्त बास बस्ने ठाउँ छैन । मन्दिर पुगेपछि यहाँ बस्नका लागि धर्मशालाहरु छन्|
परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ।स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।विशाल यज्ञमण्डपभित्र होमका लागि अग्निकुण्डमा घृतधारासहित नित्य हवन यज्ञ भइरहन्छ । त्यस्तै अन्य देवीदेवताका मन्दिर मूर्तिहरु पनि यहाँ असंख्य छन् । यहाँ नित्य पूजा हुन्छ । यहाँ संगमरमरले बनाइएको राम्रो मन्दिरमा भगवान शिवको प्रतीक शिवलिंग स्थापित गरिएको छ । यहाँ रुद्रीपाठ गरी दैनिक रुद्राभिषेक हुन्छ ।वेद पाठ, गीता पाठ, श्रीमद्भागवत, सप्तशती चण्डीसमेत विभिन्न धर्मग्रन्थका पाठहरु भइरहेका हुन्छन् । यहाँ गौशाला र अतिथि सदनहरु पनि छन् । गौसेवा र अतिथि सेवा लगायत अन्य धर्मकार्यहरु दैनन्दिन चलिरहन्छन् । यहाँ रहेको संस्कृत पाठशालामा निःशुल्क खान बस्न दिई विद्यार्थीहरुलाई वेद, रुद्री, कौमुदी, चण्डी र कर्मकाण्डसमेत संस्कृतका धर्मग्रन्थहरुको पठनपाठन गराइन्छ ।
समुद्री सतहबाट दुई हजार १ सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारीको हावापानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भू–भागमा रहेको ठूलो बाँझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, वि.सं. १९५२ देखि सञ्चालनमा आएको वेद पाठशाला, गोवर्द्धन पहाड, विभिन्न मठमन्दिरलगायतका स्थल मुख्य आकर्षण छन् ।चारवटा सिङ, तीन पाउ, दुई शिर र सातवटा हात भएका, तीनतर्फबाट तीन किसिमले पेटी (बन्धन) बाँधेका, सबैको इच्छा पूर्ति गरिदिने, साँढे (बहर गोरु) झैँ) डुक्रिने, आवाज गर्ने, यस्ता यज्ञरुपी (यज्ञस्वरुप) भगवान् मत्र्यलोकमा स्थित समस्त प्राणीको हित कल्याणका लागि रहनुभएको छ । त्यस्तै श्रीमद्भागवतको एकादशस्कन्दको पाँचौं अध्यायमा यज्ञस्वरुप भगवानको विशद वर्णन गरिएको छ । यसमा वैदिक यज्ञपुरुष र स्मृति पुराणहरुले गर्ने यज्ञपुरुषको वर्णन, कल्पभेद र युगभेदका कारणले विविध रुपले उल्लेख भएको पनि पाइन्छ । यसरी ठूला धर्मग्रन्थहरुमा यज्ञ अनुष्ठानका महिमा गाइएका छन् र यसको महत्व व्याख्या वर्णनहरु गरिएका छन् ।
वि.सं. १९५२ मा वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीको विशेष आकर्षणका रूपमा मानिएको छ । वि.सं. १९५० तिर त्यहाँ उत्खनन् गरी पूजा सामग्री फेला पारी आश्रम निर्माण गरिएको इतिहासमा उल्लेख छ । यहाँ एक सय वर्षभन्दा अघिदेखि स्थापना गरिएको यज्ञकुण्डको अग्नि निरन्तर प्रज्वलित छ, अविच्छिन्न रहेको छ । प्रस्तुत यज्ञशालाको अग्निकुण्डमा प्रज्ज्वलित गरिएका अग्निदेवता, वैदिक मन्त्रद्वारा शास्त्रीय विधिले अग्निहोत्री विद्वानहरुबाट प्रज्वलनमा ल्याइएका हुन् । यो ‘यज्ञआश्रम’ हो यहाँ बाह्रै महिना अहोरात्र ‘यज्ञ’ चलिरहन्छ । वैदिक सनातन हिन्दू धर्मका ग्रन्थहरुले यज्ञधर्मलाई प्रमुख कर्म मानेका छन् र यज्ञ अनुष्ठानबाट समस्त प्राणीको कल्याण हुने बताएका छन् ।
नयाँ भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

3376 पटक हेरिएको 


