काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निवेदक (‘प्रकाण्ड’) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर ‘प्रकाण्ड’लाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू ।”
आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ । ‘प्रकाण्ड’लाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो । उनलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।रासस

719 पटक हेरिएको 

