काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को कालिका माध्यमिक विद्यालयका शिक्षक शंकर पहरीलाई दुई छात्रालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पहरीले ५ कक्षामा अध्ययन गर्ने नौ वर्षीया दुई बालिकालाई पटकपटक बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । पीडितका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘पीडितहरूको जाहेरीका आधारमा पक्राउ गरी म्याद थपिएको छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दीपक गिरीले भने, ‘उनीमाथि लगाइएका अभियोगका विषयमा प्रहरीले गम्भीरताका साथ अनुसन्धान जारी राखेको छ ।’
बालिकाहरूका आफन्तले दिएको जाहेरीमा आरोपी शिक्षकले दुईमध्ये एक बालिकालाई ४ कक्षादेखि नै यौनहिंसा गर्दै आएको उल्लेख छ । ‘संवेदनशील अंगमा चलाउने, छुनेजस्ता क्रियाकलाप छाडिएन, अहिले बलात्कार नै गरेपछि न्याय माग गरिएको हो,’ जाहेरीमा उल्लेख छ ।
शिक्षकले आफ्नो प्रभावमा पार्न चकलेट किनिदिने र कुट्ने धम्की दिने गरेकाले घटना सार्वजनिक गराउन नसकिएको उजुरीकर्ताले बताएका छन् ।
प्रहरीका अनुसार शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा बलात्कार गरेको आरोप जाहेरीमा छ । प्रहरी चौकी खोपासीमा जाहेरी दिन आएका पीडितलाई मिल्न विद्यालयका शिक्षकले दबाब दिएपछि बलात्कारीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै पीडित जिल्ला प्रहरी कार्यालय आएका थिए ।

932 पटक हेरिएको 

