काठमाडौं ।लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आठ जना पदाधिकारी रहने टुंगो लागेको छ । यससँगै कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहनेछन् । तर, यसको प्रमुख सूत्रधार नेता कृष्णप्रसाद सिटौला रहेको बताइएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको विषयमा आ आफ्नो अडानमा अडिग रहेको बेला नेता सिटौलाले नै पदाधिकारीसम्बन्धी गाँठो फुकाउने काम गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार, पार्टी नेता पूर्व महामन्त्री सिटौलाको प्रस्तावमा सभापति देउवा सहमत भएपछि विधानको विवाद मिलेको हो । सिटौलाले ‘पदाधिकारी धेरै बढाएर काम छैन, उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई, दुई जना गरौं, सबै जना निर्वाचन मार्फत चयन गरौं, तर कोषाध्यक्ष र प्रवक्तामा सभापतिलाई ठाउँ दिने गरी जाउँ भनेर देउवालाई मनाएपछि पौडेल समेत मन्जुर भएको’ स्रोतको दाबी छ ।
सभापति देउवा केही पदाधिकारी समावेशी सिद्धान्तका आधारमा मनोनीत गर्नुपर्ने पक्षमा थिए भने वरिष्ठ नेतासहितको समूह कुनै पनि हालतमा पदाधिकारी मनोनीत गर्नेगरी व्यवस्था राख्न नहुने र सबै पदाधिकारी निर्वाचित नै हुनेगरी विधानमा व्यवस्था गर्नुपर्ने अडानमा रहेका थिए ।
यससँगै अब कांग्रेसको विधानमा रहेको असहमतिको मूल जडको अन्त्य भएको छ । यस्तै, केन्द्रीय समितिको आकारसमेत ८५ सदस्यीयबाट बढ्ने भएको छ । पदाधिकारीसमेत सातबाट बढेर नौ हुने भएको हो ।
यस्तै, कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत ८५ बाट बढाएर १६१ पु¥याइएको छ । जसअनुसार सभापतिले कुल सदस्यको २० प्रतिशत मनोनीत गर्न पाउने भएका छन् ।
उपसभापति विमलेन्द्र निधिले मंगलबार साँझ भएको सहमतिअनुसार अब कांग्रेस केन्द्रीय समितिमा आठ जना पदाधिकारी रहनेगरी टुंगो लागेको जनाए ।
‘विधानमा पदाधिकारी आठ जना राख्नेगरी सहमति भएको छ, कोषाध्यक्षबाहेकका सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्थामा सहमति भएको छ,’ उपसभापति निधिले राजधानीसँग भने ।
नेता अर्नुननरसिंह केसीले समेत सबै पदाधिकारी निर्वाचनमार्फत निर्वाचित हुनेगरी सहमति जुटेको र बुधबार बस्ने केन्द्रीय समितिले त्यसलाई अनुमोदन गरेर महासमितिमा पठाइने जनाए ।
‘अब सबै पदाधिकारी निर्वाचनमार्फत नै निर्वाचित हुनेगरी विधानमा व्यवस्था गर्ने सहमति भएको छ, कोषाध्यक्ष भने मनोनीत हुनेछन्,’ नेता केसीले भने ।
उनले समावेशी स्वरूपलाई व्यवस्थित गर्नका लागि केन्द्रीय समितिको आकार भने बढाइएको जनाए । केसीका अनुसार अब कांग्रेस विधानमा सदस्यताको प्रकारसमेत दुई प्रकारको राख्ने सहमति भएको छ ।
जसअनुसार नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्य गरेर दुई प्रकारका सदस्य रहनेगरी सहमति भएको छ ।
नेता केसीले सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था हुनु समग्र एकता, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र सामूहिक नेतृत्व पद्धतिमा ऐतिहासिक उपलब्धि भएको समेत जनाएका छन् ।
‘सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था हुनु समग्र एकता, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र सामूहिक नेतृत्व पद्धतिमा ऐतिहासिक उपलब्धि हो,’ केसीले थपे ।
नेता रमेश लेखकका अनुसार निर्वाचित सभापतिले कार्यसमितिको कुल संख्याको २० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेसमेत सहमति भएको छ ।
बुधबार १२ बजे बस्ने केन्द्रीय समितिले विधानको दस्तावेजलाई अनुमोदन गर्नेछ भने बिहीबारको महासमितिको बन्दसत्रमा विधानको मस्यौदा पेस हुने नेता लेखकले जानकारी दिए ।
कांग्रेसले राजधानीमा जारी महासमिति बैठकमा पार्टीको नयाँ विधानको मस्यौदालाई ल्याउँदै छ । पार्टीले बनाएको विधान समितिले विधानमा राख्ने व्यवस्थामा सहमति जुटाउन नसकेपछि विभिन्न विकल्पसहितको विधानको मस्यौदा कांग्रेस केन्द्रीय समितिमा पठाएको थियो ।
तर, गत ९ मंसिरबाट विधानमाथि भएको कांग्रेस केन्द्रीय समिति बैठकको छलफलले समेत विधानलाई टुंग्याउन सकेको थिएन भने विधानको विवाद महासमितिसम्म आएको थियो ।
महासमिति सुरु भएपछि समेत नेताहरू करिब आधा दर्जनपटक विधानमाथि छलफल गर्न भन्दै बन्दसत्र रोकेरै छलफलमा बसेका थिए ।
छलफलका क्रममा पदाधिकारीको संख्यामा विभिन्न विकल्पमा कुराकानी भए पनि निर्वाचित हुनेगरी व्यवस्था गर्ने कि मनोनीतसमेत राख्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।
अब कांग्रेसले सहमति भएअनुसारको व्यवस्था राखेर विधानलाई केन्द्रीय समिति हुँदै महासमितिमा लगेर पारित गर्नेछ भने यसै विधानमार्फत कांग्रेस संघीय संरचनामा समेत रूपान्तरण हुनेछ ।
विधानमा राख्ने व्यवस्थाका विषयमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफलसमेत प्रभावित हुँदै आएको थियो । महासमितिमा सहभागी प्रतिनिधिले समेत सहमति गर्नका लागि नेतालाई दबाब दिँदै आएका थिए ।

1146 पटक हेरिएको 

