काठमाडौँ, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन ।
“सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ उनले भने ।
कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताए ।
काठमाडौँलाई केन्द्रमा राखेर चीन र भारतबाट रेल सञ्जालको विस्तार गर्ने विषयमा महत्वपूर्ण सम्झौता भएको र कार्यान्वयनको प्रक्रियामा समेत गएको भन्दै उनले आगामी केही वर्षमा त्यसको वास्तविक प्रगति देखिने उल्लेख गरे ।
सरकार गठन भएपछि विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटेको, डुबान समस्या समाधानका लागि पहल भएको, करीब आधा दर्जन स्थानबाट हवाईजहाज प्रवेश गर्न पाउनेजस्ता सहमति भएको भन्दै उनले केही पनि भएन भनेर गलत प्रचार गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने, “प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै ११ वर्षदेखि विराटनगरमा बस्दै आएको दूतावासको सम्पर्क कार्यालय हटेको छ । सिमराको आकाशबाट मात्रै नेपाल जहाज प्रवेश गर्न पाउने अवस्था थियो, त्यसको समेत सुधार भएर आधा दर्जन स्थानबाट प्रवेश गर्न पाउने व्यवस्था भएको छ । डुबानको समस्या समाधान हुने क्रममा छ । यी सरकारका महत्वपूर्ण उपलब्धि हुन् ।”
यस्तै चीनसँग व्यापार तथा पारबहन सम्झौता भई नेपालले विभिन्न सात वटा बन्दरगाहसमेत प्रयोग गर्न पाउने सहमति हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।
सरकारले क्रमशः विकास, निर्माण, आर्थिक समृद्धि र सम्पर्क सञ्जालको विस्तारलाई विशेष प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले सरकारको सकारात्मक काम कारवाहीलाई जनतासमक्ष पु¥याउन र जनतमतलाई थप बलियो बनाउनसमेत नेता तथा कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत, चीनजस्ता छिमेकी देशको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताले जनतामा समेत नयाँ खालको उत्साह पैदा भएको र कम्युनिस्ट पार्टीको सरकार जनताको सुख दुःखमा साथ दिन्छ भन्ने तथ्यसमेत स्थापित भएको बताए ।
वामपन्थीको सरकारले केही गरेन भनेर प्रचार गर्नेलाई ठन्डा दिमागले सोच्न र सकारात्मक कामलाई सकारात्मकरुपमा नै लिनसमेत आग्रह गरे ।
सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पार्दै उहाँले त्यसको परिणाम भने आगामी दिनमा नै देखिँदै जाने र आर्थिक विकासमा गुणात्मक परिवर्तन हुने स्पष्ट पारेे ।
केही समयभित्रै राजधानी काठमाडौँको सबै सडकको मर्मत सम्भार गर्ने विषयमा प्रधानमन्त्री ओली र आफूले दृढ सङ्कल्प गरेको भन्दै विकास निर्माणका काममा भइरहेको ढिलाइ क्षम्य नहुने बताए ।
“केही समयभित्रै राजधानीका सबै सडक कालोपत्रे हुने र धुलो तथा धुवाँरहित बनाउन हामी प्रयासरत छौँ, त्यसलाई समाधान गर्छौं’ अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा वर्षाका कारण काम गर्न नसकिएको स्थानमा समेत अब छिट्टै मर्मत सम्भारको काम अगाडि बढ्छ ।”
विगतमा कुनै पनि सरकार स्थिर हुन नसक्दा जनताले दुःख पाएको र राष्ट्रसमेत समस्यामा परेको भन्दै उनले नेपाली जनताले कम्युनिस्ट पार्टीप्रति गरेको विश्वासलाई अक्षरशः कार्यान्वयन गरेर देखाइने दृढता व्यक्त गरे ।
जनताले हामीलाई ऐतिहासिक अवसर प्रदान गरेका छन्, यो अवसरलाई हामी पूर्णरुपमा सदुपयोग गर्छौं र देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्छौं” अध्यक्ष दाहालले भने ।
नेकपालाई ऐतिहासिक अवसर र चुनौती दुवै रहेको दोहो¥याउँदै उहाँले नेपाली जनतालाई सुशासन, विकास र समृद्धि दिनुपर्ने र सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गरेर छाडिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
वृद्धवृद्धाको भत्ता वृद्धि गर्ने, विकासका कामलाई गति दिएर अगाडि जाने सडकका खाल्डाखुल्डी पुर्ने धुलो रोक्ने काममा सरकार प्रतिबद्ध भएर लाग्ने उनको भनाइ थियो ।
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाका नेता वामदेव गौतमले नै उपनिर्वाचन नलड्ने भनेर नै स्पष्ट पारिसक्नु भएकाले त्यसमा थप टिप्पणी जरुरी नरहेको बताए । कार्यक्रममा नेकपाका नेता नारायण दाहाल, कृष्ण राईलगायतको उपस्थिति थियो ।

1029 पटक हेरिएको 

